खरसाङ, 10 जून (हि.स.)। खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको पक्षबाट आज लङ्भ्यू साई मन्दिर परिसरमा हाई माक्स सोलर लाइट जडान गर्ने कार्यको शिलान्यास विधिवत् रूपमा पूजा अर्चनासहित सम्पन्न गरियो। यस शिलान्यास कार्यक्रममा समष्टि कार्यकारी सभासद कल्पना प्रधान साथै मनोनित सभासद प्रणाम रसाइलीको विशेष उपस्थिति रहेको थियो।
सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै लङ्भ्यू साई मन्दिर परिसरमा गुम्बा, राधा कृष्ण मन्दिर, ब्याङ्क साथै शहीद वेदी पनि रहेको हुनाले सुरक्षाको निम्ति यस क्षेत्रमा सोलर लाइट जडान गर्न नितान्त आवश्यक रहेको जनाउँदै सर्वसाधारणलाई सुविधाको निम्ति पञ्चायत मार्फत महिला शौचालयको पनि निर्माण हुने जनाए। उपप्रधान सन्तोष लामाले पञ्चायत मार्फत गाउँ घरमा भइरहेको विकासमूलक कार्यहरुको संरक्षण गर्ने जिम्मेवारी सम्पूर्ण ग्रामवासीको रहेको जनाए।
सभासद प्रणाम रसाईलीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा यथार्थको राजनीति दल रहेको हुनाले पञ्चायती व्यवस्थाले जीटीए क्षेत्रभरि नै विकासममूलक कार्यहरू भइरहेको जनाए। भागोप्रमो पंखाबारी लङ्भू अम्बटे समष्टि सचिव ललित प्रधानले आज सम्पन्न शिलान्यास कार्यक्रममा उपस्थित पञ्चायत सदस्यगण, पञ्चायतका कर्मचारीहरू साथै पार्टीका कार्यकर्ताहरूलाई धन्यवाद प्रकट गरे।
हिन्दुस्थान समाचार / हनोक