गान्तोक, 10 जून (हि.स.)। पत्र सूचना कार्यालय, गान्तोकले आज पाकिममा ‘वार्तालाप’ नामक मिडिया अन्तरक्रिया कार्यक्रम आयोजना गऱ्यो, जसमा विभिन्न प्रिन्ट, इलेक्ट्रोनिक र डिजिटल मिडिया हाउसका प्रतिनिधिहरूका साथै पत्र सूचना कार्यालय, सूचना तथा जनसम्पर्क विभाग, पाकिम, सिक्किम सरकार, आकाशवाणी गान्तोकका अधिकारी र पाकिम जिल्ला प्रशासनका वरिष्ठ नोकरशाहहरूले भाग लिएका थिए। कार्यक्रमको आयोजन आईपीआरडी पाकिमको समन्वयमा गरिएको जानकारी पीआईबीले बताएको छ।
कार्यक्रमको उद्देश्य मिडियाकर्मीहरूसँग सरकारी पहल र योजनाहरूलाई साझा गर्नु र सरकारी अधिकारी र सिक्किमका पत्रकारहरूबीच सेतु निर्माण गर्नु थियो।
जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटियाले कार्यशालामा मुख्य अतिथिको रूपमा उपस्थिति जनाउँदै सिक्किम सरकारले हालै सिक्किमका युवाहरूलाई 30,000 भन्दा अधिक रोजगारी प्रदान गरेको, जसबाट करिब 90,000 परिवारका सदस्यहरू लाभान्वित भएको बताउँदै यो विकसित राज्य प्राप्त गर्ने एउटा राम्रो उदाहरण भएको बताइन्।
उनले थप भनिन्, “यी युवाहरूले हाम्रा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सपना विकसित सिक्किम, विकसित भारतलाई साकार तुल्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।” उनले धेरै सरकारी योजनाहरूको उल्लेख गरिन्, जुन जमिनी स्तरमा लाभदायक साबित भएका छन् र आम नागरिकहरूलाई राहत प्रदान गरेका छन्।
जिल्ला अध्यक्षले अघि बोल्दै वार्तालाप पहलको प्रशंसा गर्दै यस प्रकारको संवाद अन्तरक्रिया कार्यक्रमहरूले पत्रकार र सरकारी अधिकारीहरूलाई एक साथ ल्याएर विकसित भारतको साझा लक्ष्यको लागि विचार आदान-प्रदान गर्न सबैभन्दा उत्तम मञ्च प्रदान गर्ने टिप्पणी गरिन्।
पाकिम जिल्लाकी जिल्ला उपाध्यक्ष प्रभा प्रधानले भेलालाई सम्बोधन गर्दै सिक्किमले शिक्षा र खेलकुद लगायत विभिन्न क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको उल्लेख गरिन्। उनले राज्यको चिकित्सा पूर्वाधारमा आएको परिवर्तनको विशेष रूपमा उल्लेख गरिन्, जसले समाजको ठूलो वर्गलाई लाभान्वित गरेको छ, जसले आम नागरिकहरूलाई राज्यभित्रै चिकित्सा उपचार प्राप्त गर्न र निःशुल्क औषधि पहुँच गर्न सक्षम बनाएको छ।
कार्यक्रममा प्यानल चर्चा र प्रश्नोत्तर सत्र पनि सामेल थिए।पहिलो प्यानल चर्चा ’2047 सम्ममा विकसित भारततर्फ अग्रसर हुने सामूहिक प्रयास र सिक्किमको भूमिका’ माथि केन्द्रित थियो। प्यानलमा पाकिमका अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया, पशुपालन तथा पशु चिकित्सा सेवाका अतिरिक्त निर्देशक डा. अञ्जला प्रधान, मत्स्य पालन विभागकी सहायक निर्देशक गौरी मुखिया सामेल थिए भने पाकिम जिल्लाकी जिल्ला सूचना अधिकारी डिकी भोटियाले सञ्चालन गरिन्।
भोटियाले विकसित भारतको निर्माणमा राज्य प्रशासनको भूमिकाको बारेमा दर्शकहरूलाई प्रबुद्ध पारे। उनले सिक्किमलाई विकसित युगमा लैजान प्रमुख भूमिका खेल्ने जनकेन्द्रित नीति, सरकारी अधिकारीहरूबीचको जवाफदेहिता र पर्यावरण अनुकूल कदमहरूको दृढतापूर्वक वकालत गरे। अन्य दुई वक्ताहरूले पनि आम नागरिकहरूले लाभ उठाउन सक्ने बहुविध योजना र अवसरहरूमाथि प्रकाश पारे, जसले अन्ततः विकसित भारतको पूर्तितर्फ मार्ग प्रशस्त गर्दछ।
अर्को प्यानल चर्चामा अन्तर्राष्ट्रिय योग दिवस 2025 भन्दा अगाडि ‘विकसित भारतलाई प्राप्त गर्नमा मानसिक स्वास्थ्य र योगको भूमिका’ मा ध्यान केन्द्रित गरियो। सत्रमा भाग लिँदै पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवा र आयुषका चिकित्सा अधिकारी डा. कुलजन लामाले दैनिक जीवनमा योगको प्रयोग र फाइदाहरूको बारेमा विस्तृत रूपमा बोले। दुवैले तनाउ र चिन्तालाई कम गर्न योग र ध्यान अत्यधिक लाभदायक भएको प्रमाणित गर्ने धेरै शोध पत्रमाथि प्रकाश पारे। यो सत्रको सञ्चालन वरिष्ठ पत्रकार डिल्लीराम दुलालले गरेका थिए।
प्रत्येक अन्तरक्रियात्मक सत्रपछि प्रश्नोत्तर सत्र भएको थियो, जसले मिडिया पेशेवरहरूलाई अधिकारीहरूसँग संलग्न हुन र आफ्नो शङ्का स्पष्ट पार्ने बहुमूल्य अवसर प्रदान गर्यो। यसभन्दा अघि कार्यक्रममा पत्र सूचना कार्यालयका सहायक निर्देशक मानस प्रतिम शर्माले स्वागत भाषण राख्दै सबै सहभागीहरूप्रति आभार व्यक्त गरे। यो कार्यक्रम गत महिना गान्तोकमा आयोजन गरिएको वार्तालाप कार्यशालाको सफल आयोजनापछि गरिएको छ, जसमा राज्य र राष्ट्रिय स्तरसँग सम्बन्धित विभिन्न सान्दर्भिक मुद्दाका साथसाथै पत्रकारहरूका लागि केन्द्रीय कल्याणकारी योजनाहरूमाथि चर्चा गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल