सोनादा, 10 जून (हि.स.)। सोनादा क्षेत्रको चियाबारी श्रमिकका छोरो भारतीय सेनामा कर्णेल बनेका छन्। सोनादा क्षेत्रको लागि गौरवपूर्ण र ऐतिहासिक उपलब्धि हासिल गर्दै रंगमूक चन्द्रमानधुरा (सीएमडी) गाउँको एक साधारण चियाबारी श्रमिकका छोरा विवेक राई भारतीय सेनाको प्रतिष्ठित पद कर्णेलमा पदोन्नति भएका छन्। सम्पूर्ण क्षेत्रमा यो दर्जा प्राप्त गर्ने उनी पहिलो व्यक्ति बनेका छन्।
वर्ष 2003 मा दार्जिलिङस्थित सेन्ट रोबर्ट्स स्कूलबाट बाह्रौं कक्षामा जिल्ला टप गरेका विवेक राईले भारतीय सेनामा एक सैनिकका रूपमा आर्मी एभिएसन कर्प्समा हेलिकप्टर प्राविधिकको रुपमा सेवा शुरू गरेका थिए। उनको तेज बुद्धि, कठोर परिश्रम र नेतृत्व क्षमताले 2008 मा उनलाई आर्मी क्याडेट कलेजमा चयनित सक्षम बनायो, जहाँबाट योग्य जवानहरूलाई अधिकृत बन्ने अवसर दिइन्छ।
वर्ष 2012 मा उनी इण्डियन मिलिटरी एकेडेमी, देहरादूनबाट लेफ्टिनेन्टका रूपमा अधिकृत बने। पहिलोपटक सीएमडी गाउँमा कमिसन्ड अफिसरको रूपमा उनको आगमनलाई सम्पूर्ण गाउँले खादा, माला र आशीर्वादले स्वागत गरेका थिए। यो क्षण न केवल व्यक्तिगत उपलब्धि थियो, तर सम्पूर्ण क्षेत्रका लागि प्रेरणादायी ऐतिहासिक मोड पनि बनेको थियो।
सेनाको आफ्नो उत्कृष्ट सेवाकालमा कर्णेल राईले असाधारण नेतृत्व र समर्पण देखाएका छन्। उनले राष्ट्रिय राइफल्स बटालियनमा कम्पनी कमाण्डरको रूपमा देशको संवेदनशील क्षेत्रहरूमा आतंकविरोधी अपरेसनको नेतृत्व गरे। त्यसपछि एयर डिफेन्स रेजिमेन्टमा ब्याट्री कमाण्डरको रूपमा कार्य गर्दै देशको हवाई सुरक्षामा योगदान पुर्याए।
वर्ष 2018–19 मा मेजर पदमा रहँदा उनी इण्डियन मिलिटरी एकेडेमीमा इन्स्टक्टरको रूपमा कार्यरत भए, जहाँ उनले भावी सैन्य अधिकृतहरूलाई तालिम दिएका थिए। यस्तो भूमिका केवल उच्च सैन्य चरित्र र नेतृत्व क्षमता भएका अधिकृतहरूलाई दिइन्छ, यो सम्मानले उनीप्रति सेनाभित्रको विश्वास दर्शाउँछ। हाल उनले एक इन्फेन्ट्री ब्रिगेडमा एएजीको रूपमा सेवा दिइरहेका छन्।
हिन्दुस्थान समाचार / हनोक