गान्तोक, 13 जून (हि.स.)। आगामी 15 जूनदेखि 30 जूनसम्म राजधानीको पाल्जोर स्टेडियममा 'दोस्रो एपीएफए अन्तरराष्ट्रिय भेटरन्स पुरुष फुटबल टुर्नामेन्ट 2025' आयोजना भइरहेको छ। उक्त टुर्नामेन्टको आयोजना एपीएफए कमिटीले गर्नेछ, जसमा देश अनि विदेशका कूल 20 फुटबल दलले भाग लिनेछन्।
उक्त जानकारी टुर्नामेन्ट आयोजक संस्थाका अध्यक्ष छिरिङ यश्सी आज राजधानीको फुटबल हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा दिएका हुन्। उनले भने, 40 वर्ष उमेर नाघेका मानिसहरूमा बढ्दो स्वास्थ्य सम्बन्धी समस्याहरूलाई ध्यानमा राख्दै 2023 मा संस्था गठन गरेपछि फुटबल टुर्नामेन्ट आयोजन गर्ने निर्णय लिइएको हो। फुटबल खेलको माध्यमद्वारा विशेष गरि भेटरनहरूको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्य रहेको छ।
उनले गत वर्ष देहरादूनमा टुर्नामेन्ट आयोजना भएको, जसमा 14 फुटबल दलले भाग लिएको जानकारी गराए। यसपाली गान्तोकमा आयोजना भइरहेको यस टुर्नामेन्टमा कूल 20 फुटबल दलले भाग लिइरहेको पनि उनले बताए। उनले यस टुर्नामेन्टमा सर्वाधिक 68 वर्ष उमेरका भेटरन सहभागी बनिरहेको अवगत गराए। उनले पहिला लिग र लिगमा चयनित दलहरूलाई लिएर नकआउट फर्म्याटमा खेल खेलाइने बताए।
अध्यक्ष छिरिङले 30 जूनमा हुने फाइनलमा विजेता दललाई डेढ लाखसहित ट्रफी र उपविजेता दललाई एक लाखसहित ट्रफी प्रदान गरिने बताए। उनले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती वर्षलाई ध्यानमा राख्दै यसपाली यो टुर्नामेन्ट सिक्किममा आयोजना गर्ने निर्णय लिएको पनि बताए।
संस्थाका सदस्य तेन्जिङ छिपेलले यो टुर्नामेन्ट आयोजन गर्न सहयोग गर्ने एसएफए लगायत विभिन्न संघ संस्था र निरन्तर समर्थनको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पनि धन्यवाद दिए।
हिन्दुस्थान समाचार / बिशाल