कालेबुङ, 13 जून (हि.स.)। जीटीए क्षेत्रका 121 जना स्वयँसेवी शिक्षक/शिक्षिकाहरूले ठूलो राहत पाएका छन्। हिल तराई प्राथमिक शिक्षक सगंठन कालेबुङ जिल्ला समितिको सचिव दिनेश महन्तले आज बताए अनुसार, 121 जनाको नियुक्तिको वैधतामाथि चुनौती दिँदै सुदन गुरूङ र अन्यहरूले यसभन्दा अघि पनि कलकत्ता उच्च न्यायालयमा मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दामा उच्च न्यायालयले 121 शिक्षकहरूकै पक्षमा फसेला सुनाएको थियो।
यसपछि सुदन गुरूङ र अन्यहरूले उक्त मुद्दालाई फेरि कलकत्ता न्यायालयकै जलपाइगढ़ी डिभिजन बेञ्चमा रिभ्यू पिटिशन दर्ता गरेका थिए भने आज उक्त मुद्दामाथि सुनवाई भयो। जलपाइगढ़ी डिभिजन बेञ्चले पनि सुदन गुरूङको उक्त रिभ्यू पिटिशन खारेज गरिदिएको छ। 121 जना प्राथमिक शिक्षकहरूलाई यस जितले ठूलो राहत प्रदान गरेको उनले बताएका छन्।
न्यायालयको उक्त फसेलापछि ठूलो राहत पाएका शिक्षकहरूको पक्षमा हिल तराई प्राइमेरी टिचर्स अर्गनाइजेशन कालेबुङ जिल्ला समितिका सचिव दिनेश महन्तले 121 जना शिक्षकहरूलाई बधाई अनि शुभकामना दिएका छन्। यस बाहेक उक्त मुद्दाको शुरूवातदेखि शिक्षकहरूलाई सहयोग गरेवापत् जीटीए अनि राज्य सरकारलाई पनि महन्तले 121 शिक्षकहरूको पक्षमा धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक