खरसाङ, 13 जून (हि.स.)। तीनधारेको राजबारीस्थित साम्तेन छ्योलिङ म्हाणी ल्हाखाङमा तीनधारे म्हाणिपा संघको तत्वावधानमा एक दिवसीय सागा दावाको पूजा सम्पन्न गरिएको छ। सागा दावा पूजा तीनधारेको मिठाईडाँडास्थित पद्य छ्योलिङ तामाङ गुम्बाका प्रमुख लामा म्हम्हे बुम्बा डुम्जन लामाको अगुवाईमा सम्पन्न गरियो।
सागा दावा महिनाको विशेषताबारे जानकारी दिॅंदै म्हेम्हे बुम्बा डुम्जन लामाले सागा दावाको महिना अति नै शुभ रहेको र धेरैभन्दा धेरै पुण्य कमाउन सके आफूलाई धेरै लाभ हुने बताए। उनले यो महिना जसले जे-जस्तो कार्यहरू गर्छन् ती सबै कार्यहरूका फल आफूले हजार गुणा बढेर पाउने बताए। उनले यस दिन भगवान् बुद्धले जन्म, ज्ञानप्राप्ति र परिनिर्वाण प्राप्त गरेको बताए।
यस अवसरमा म्हेम्हे बुम्बा डुम्जन लामाको हातबाट वाङ (अभिषेक) वितरण गरियो। संघका कोषाध्यक्ष शान्ति योञ्जनले पहिलोचोटि तीनधारेमा म्हाणिपा संघ गठन गरिदिने अनि म्हाणी ल्हाखाङमा चोक्ची ठी दान गरिदिने म्हेम्हे पेमा डुम्जन लामालाई संघको पक्षबाट धन्यवाद दिइन्। उनले यस पूजामा आर्थिक अनि शारीरिक रुपले साथ दिई पूजालाई सफल बनाइदिने सबै महानुभवहरुप्रति आभार व्यक्त गरेकी छिन्।
हिन्दुस्थान समाचार / हनोक