मन्त्री छिरिङ टी. भोटियाले गरे दुईवटा भीएलडब्ल्यू केन्द्रको उदघाटन
मन्त्री छिरिङ टी. भोटियाले गरे  दुईवटा भीएलडब्ल्यू केन्द्रको उदघाटन


गेजिङ, 14 जून (हि.स.)। राज्य पर्यटन तथा नागरिक उड्डयन र वाणिज्य तथा उद्योग विभागका मन्त्री एवं योक्सम-टाशीडिङका क्षेत्र विधायक छिरिङ टी. भोटियाले आज गेजिङ जिल्लाको योक्सम-टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत मिडल चोङराङ र लाबिङ-गेरथाङमा नवनिर्मित दुईवटा भीएलडब्ल्यू केन्द्रको उद्घाटन गरे।

यी केन्द्रहरू सिक्किम सरकारको कृषि विभागद्वारा भवन तथा कृषि संरचना विकास योजनाअन्तर्गत राज्य सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका हुन्। नयाँ केन्द्रहरू कृषि सेवा पहुँचलाई सहज बनाउने र खेतीपातीसम्बन्धी योजनाहरूको कार्यान्वयनलाई स्थानीयस्तरसम्म प्रभावकारी बनाउन लक्षित गरिएको हो।

उद्घाटन कार्यक्रममा गेजिङ जिल्लाका कृषि/बागवानी विभागका अतिरिक्त निर्देशक कर्मा शेर्पा, उप-निर्देशक वाईबी गुरुङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

उद्घाटनपछि मन्त्री भोटियाले केन्द्रहरूमा रहेको कार्यालय कक्ष, गोदाम आदि पूर्वाधारको निरीक्षण गर्दै त्यहाँ कार्यरत कर्मचारीहरूसँग अन्तरक्रिया गरे। मन्त्री भोटियाले राज्य सरकारले किसानहरूका लागि सञ्चालनमा ल्याएका विभिन्न योजना र पहलहरूको जानकारी पनि गराए।

उनले भने, 'यी केन्द्रहरू राज्य सरकारले किसानहरूलाई सशक्त बनाउने र ग्रामीण विकास राज्यका प्रत्येक कुनामा पुर्‍याउने निरन्तर प्रयासहरूको एक पहल हो।' उनले राज्य सरकारले शुरु गरेका विभिन्न विकासिय परियोजना तथा कल्याणकारी योजनाहरूबारेमा पनि जोड दिए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande