
गान्तोक, 02 जून (हि.स.)। उत्तर सिक्किममा भएको वाहन दुर्घटनापछि बेपत्ता बनेका वाहन चालकसहित 9 जना पर्यटकको बारेमा अहिलेसम्म कुनै सुराग फेला परेको छैन्। दुर्घटना भएको आज चार दिन बितेको छ।
गत 29 मई, 2025 का दिन उत्तर सिक्किम अन्तर्गत मंगन जिल्लाको लाचुङबाट चुङथाङतर्फ आउने क्रममा मुन्शिथाङ छेउ छोबोम्पूमा एउटा वाहन सड़कबाट लगभग 1000 फुट तल टिस्टा नदीमा झरेको थियो। वाहनमा चालकसहित 11 जना पर्यटकहरू थिए। दुर्घटनापछि दुई जना पर्यटकलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो भने अहिले उनीहरूको राजधानीस्थित एसटीएनएम अस्पतालमा उपचार चलिरहेको छ। घाइतेहरूको अवस्था अहिले स्थिर छ भने उनीहरू निको भइरहेका छन्।
वाहनमा सवार 9 जना अझै पनि बेपत्ता छन्, जसमा वाहन चालक पनि सामेल छन्। वाहन चालक उत्तर सिक्किमको सिङघिक निवासी थिए भने पर्यटकहरू दुई जना त्रिपुरा, दुई जना उत्तर प्रदेश र चार जना ओडिशाबाट रहेका छन्। बेपत्ता बनेका मानिसहरूको खोजी एवं उद्धार अभियान अझै पनि जारी रहेको आज राज्य पर्यटन एवं नागरिक उड्डयन विभागले प्रेस विज्ञप्तिमा जनाएको छ।
खोजी एवं उद्धार अभियानमा जिल्ला पुलिस, जिल्ला प्रशासन, आईटीबीपी, सेना, पर्यटन तथा नागरिक उड्डयन विभाग, बीआरओ, एनडीआरएफ, ग्रेफ, अग्नि, चिकित्सा टोली, टास, पर्यटन सरोकारवालाहरू, चालक संगठन र स्थानीय स्वयंसेवकहरूको सामेल छन्।
विभागले भनेको छ, मनसुनको मौसममा यस क्षेत्रमा भारी वर्षाले पैह्रो झर्न सक्छ र विशेष गरी दुर्गम पर्यटकीय गन्तव्यहरूमा जाने सडक अवरुद्ध हुन सक्छ। हामी सबै पर्यटकहरूलाई यात्रा गर्दा सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट प्राप्त सडक र मौसम अद्यावधिकहरूको आधारमा आफ्नो यात्रा योजना बनाउन सल्लाह दिन्छौं।
हिन्दुस्थान समाचार / बिशाल