हेमराज अधिकारीलाई ‘हेमलता स्मृति लघुकथा सम्मान–2082’
हेमराज अधिकारीलाई ‘हेमलता स्मृति लघुकथा सम्मान–2082’


गान्तोक, 23 जून (हि.स.)। नेपाली लघुकथा साहित्यमा विशिष्ट योगदान पुर्‍याउँदै आएका गान्तोक जिल्ला, तुमिन–सिक्किम, भारत निवासी साहित्यकार हेमराज अधिकारीलाई ‘हेमलता स्मृति लघुकथा सम्मान–2082’ प्रदान गरिने भएको छ।

“नमस्ते आधुनिक लघुकथा मञ्च, राप्तीनगरपालिका चितवन” द्वारा कीर्तिशेष स्रष्टा हेमलता उप्रेतीको स्मृतिमा स्थापना गरिएको यस वार्षिक सम्मान अन्तर्गत, स्तरीय लघुकथा लेखनमा सक्रिय तर हालसम्म कृति प्रकाशित नगरेका एक पुरुष र एक महिला स्रष्टालाई हरेक वर्ष सम्मानित गरिँदै आएको छ।

ग्रामीण यथार्थ, सामाजिक चेतना र मानवीय संवेदनामा गहिरो पकड राख्दै नेपाली लघुकथालाई सीमापार समर्पण गरेका हेमराज अधिकारीलाई यस वर्षको पुरुष स्रष्टा श्रेणीमा सम्मानित गरिने कुरा संस्थाका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी 'कृष्णजी शर्माले' बताएका छन्।

अधिकारीलाई रु. ५,५५५/- नगद, ताम्र-पत्रमा सम्मान-पत्र सहित आगामी अक्टोबर महिना राप्तीनगरपालिका चितवनमा हुने राष्ट्रिय समारोहमा सम्मान गरिने मञ्चका संस्थापक अध्यक्षले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

नारी स्रष्टा श्रेणीतर्फ यस वर्षको सम्मान कर्णाली प्रदेश, सुर्खेत निवासी दीव्यांग साहित्यकार ‘प्रतिज्ञा’ (हिमा रोका) लाई प्रदान गरिनेछ। संस्थाका संस्थापक अध्यक्षले, यो सम्मानले सीमापार नेपाली भाषी स्रष्टाहरूको योगदानलाई अन्तरराष्ट्रिय स्तरमा उजागर गर्न सघाउने विश्वास व्यक्त गरेका छन्।

संस्थापक अध्यक्ष डल्लाकोटी अनुसार, हेमराज अधिकारी सिक्किमेली लघुकथा समाजका प्रमुख एड्मिन समेत हुन्। उनी लघुकथामा मात्र होइन, विचारधारात्मक लेखन र भाषिक विवेचनामा पनि सक्रिय छन्। उनको प्रस्तुतिमा ग्रामीण पीडा, सामाजिक संवेदना र यथार्थपरक दृष्टिकोण विशेष प्रभाव पार्दछ। यो सम्मानले नेपाली लघुकथाको सन्दर्भमा सीमापार चेतनाको एउटा उज्यालो पाटो थप्ने विश्वास गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande