खरसाङ, 23 जून (हि.स.)। तीनधारे महानदी समष्टिको घैयाबारीस्थित अस्पताल (प्राथमिक स्वास्थ केन्द्र) मा लगभग एक महिनापछि डाक्टर आएका छन्। विगत केही समयदेखि यता घैयाबारी अस्पताल डाक्टरबिना नै सञ्चालन भइरहेको थियो। उक्त समस्यालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र जीटीएको स्वास्थ्य एवं परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको पहलमा सोमवारदेखि घैयाबारी अस्पतालमा डाक्टर आएका छन्।
बाघगौडा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मेहताब आलमलाई घैयाबारी अस्पताल स्थानान्तरण गरिएको छ। यस अवसरमा घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत प्रधान सुष्मा वाईबा, पञ्चायत सदस्याहरु चन्दना तामाङ र मिट्ठु लामा राई साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्म र पार्टी प्रतिनिधिहरुले नयाँ डाक्टरलाई स्वागत जनाए।
नयाँ डाक्टरले सुकना खण्ड स्वास्थ्य केन्द्रबाट आधिकारिक रुपमा अर्डर आएर मात्र यहाँ स्थायी रुपमा आउन सक्ने र अहिले बाघगौडा प्राथमिक स्वास्थ केन्द्र पनि हेर्नु परेकाले 3-3 दिन गरेर दुवैतिर हेर्ने बताएको भनी बिपन विश्वकर्मले जानकारी गराएका छन्। पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्मले लगभग एक महिनापछि क्षेत्रीय सभासद नवराज छेत्री र स्वास्थ्य एवं परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको पहलमा घैयाबारी अस्पतालमा डाक्टर आएको बताए।
उनले सुकना खण्ड स्वास्थ्य केन्द्रबाट आधिकारिक रुपमा अर्डर आएपछि मात्र नयॉं डाक्टर यहाँ स्थायी रुपमा आउने र अहिले भने बाघगौडा प्राथमिक स्वास्थ केन्द्र पनि हेर्नु पर्ने भएको थाहा लागेको बताए। उनले यस विषयमा पनि क्षेत्रीय सभासद र स्वास्थ्य एवं परिवार कल्याण विभागका एमओडीसॅंग कुराकानी गर्ने बताए।
हिन्दुस्थान समाचार / हनोक