खरसाङ, 23 जून (हि.स.)। खरसाङ नगरपालिका बोर्ड अफ् एडमिनिसट्रेसन पक्षबाट खरसाङ शहरमा ग्यास आधारित शवदाह गृह बन्न सकोस् भन्ने उद्देश्य लिएर गत केही दिन जीटीए प्रमुख कार्यपाल अनित थापा र खरसाङ महकुमा अधिकारीलाई जानकारी गराइएको थियो। उक्त कार्यको जिम्मा खरसाङ नगरपालिका अर्वन प्लानर सञ्जय प्रसाद अनि एसएई विशाल सुनुवारलाई दिइएको थियो।
यसै कार्यलाई निरन्तरता दिँदै भारतका अन्य राज्यहरूका प्रोजेक्ट इञ्चार्जहरूसँग सम्पर्क गरिरहँदा दिल्लीमा यस प्रकारको ग्यास आधारित शवदाह गृह अघिबाटै प्रयोगमा ल्याइसकेको जानकारी प्राप्त भएपछि सोमवार खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ, उपाध्यक्ष सुबास प्रधान तथा ईओ कैलाश प्रसाद, एसएई विशाल सुनुवार, अर्वन प्लानर सञ्जय प्रसाद दिल्ली प्रस्थान गरेका छन्।
यसबारे जानकारी गराउँदै नगरपालिका उपाध्यक्ष सुवास प्रधानले सरकारले बन जङ्गल संरक्षण गर्न विभिन्न कार्यक्रम गरेर जनचेतना अभियान सञ्चालन गर्दै आइरहेको छ, यसैले दाउरा पाउन अहिले कठिन मात्र होइन असम्भव पनि छ भनी बताए। उनले भने, अन्तिम संस्कार गर्न निक्कै मुश्किल पर्छ। त्यसबाहेक खरसाङमा मात्र पनि 4800 रूपियाँ दाउराको लाग्छ भने शव बोक्ने गाडीको 1500 छ। अन्तिम संस्कार गराउनेलाई चियाखाजा इत्यादिको व्यवस्था गर्दा मृत्यु परेका घरका मानिसहरूलाई धेरै आर्थिक संकट हुने गर्दछ। यस्तै असुविधाहरूलाई मध्यनजर राखेर कम्ति खर्चमा मानिसहरूले अन्तिम संस्कार गर्न सकुन भन्ने उद्धेश्य लिएर ग्यास आधारित शवदाह गृह निर्माण गर्ने पहल गरिएको उनले बताए।
उनले चाँडै नै खरसाङ शहरमा यस प्रकारको शवदाह गृह बनाउने दिशामा तीब्रता ल्याउन आफूहरू दिल्ली प्रस्थान गरेको अवगत गराए।
हिन्दुस्थान समाचार / हनोक