विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्द्धना जनाइयो
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्द्धना जनाइयो


- नानीहरुले ठूला परीक्षाहरु पास गरेर घर परिवार र पहाडकाे नाम उच्च राख्नुपर्छ: सभासद श्याम शेर्पा

खरसाङ, 23 जून (हि.स.)। खरसाङको वार्ड नम्बर 7 काे डेभलपमेन्ट कमिटीद्वारा विद्यार्थीहरुलाई सम्बर्द्धना जनाइएको छ। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 काे डेभलपमेन्ट कमिटीले यस वर्ष 2025 मा माध्यमिक, उच्च माध्यमिक, आईसीएससी अनि सीबीएसईका 23 जना नानीहरूलाई सम्बर्द्धना जनायो।

डेभलपमेन्ट कमिटीका अध्यक्ष म‍ोहन गुरुङले अध्यक्षता गरेको कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक र क्षेत्रीय सभासद श्याम शेर्पा मुख्य अतिथि अनि खरसाङ नगरपालिकाका कार्यकारी अधिकारी कैलास प्रसाद विशिष्ट अतिथि थिए। यसपालीको माध्यमिक परीक्षा उत्तीर्ण पाँचजना, उच्च माध्यमिक उत्तीर्ण चारजना, आईसीएसई उत्तीर्ण 13 जना अनि आईएससी उत्तीर्ण एकजना विद्यार्थी थिए।

अतिथिहरूको बाहुलीद्वारा नानीहरूलाई उनीहरूका अभिभावकको साथमा खदा स्मृति चिन्ह अनि प्रमाण पत्र प्रदान गरियो। कार्यक्रमलाई महकुमा अधिकारी, क्षेत्रीय सभासद्, डेपुटी मजिस्ट्रेट, साहित्यकार बालकृष्ण थामी, अभिभावक पक्षबाट गौतम छेत्री, अन्जु कार्की आदिले सम्बोधन गरेका थिए।

सभासद श्याम शेर्पाले वार्ड नम्बर 7 काे वार्ड डेभलपमेन्ट कमिटीले 2005 देखि विद्यार्थीहरुलाई परीक्षाकाे रिजल्ट आएपछि उनीहरुलाई प्रोत्साहित गर्न सम्बर्द्धना जनाउँदै आइरहेकाे बताए। सभासद शेर्पाले भने, अहिले पहाडमा शान्ति छ र पढने परिवेश पनि छ। पहाडका नानीहरूले पनि यूपीएससी, डब्ल्युबीसीएस परीक्षा पास गरेको सुन्न र देख्नु पाइरहेका छौँ। नानीहरूले राम्रो पढेर भविष्यमा यूपीएससी, डब्ल्युबीसीएस र अन्य ठूला परीक्षाहरु पास गरेर उच्च ओहोदामा पुगेर घर परिवार र पहाडकाे नाम उच्च राख्नुपर्छ।

उनले नशालु पदार्थदेखि आफू पनि बाँच्नुपर्छ र अन्यहरूलाई पनि जोगाउनु पर्छ भनी विद्यार्थीहरूलाई सुझाउ दिए। साथै मोबाइलकाे सदुपयोग गर्नुपर्ने र दिन रात मोबाइलमा भुलिनु नहुने उनले बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande