सीएपी सिक्किमको गेजिङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण सभा सम्पन्न
सीएपी सिक्किमको गेजिङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण सभा सम्पन्न


गान्तोक, 24 जून (हि.स.)। सिटिजन एक्सन पार्टी–सिक्किमको गेजिङ जिल्ला कार्यकारिणी परिषद् अन्तर्गत एक महत्वपूर्ण संगठनात्मक सभा सोमवार गेजिङस्थित पार्टी कार्यालयमा सफलतापूर्वक सम्पन्न भयो।

जिल्ला अध्यक्ष ओङदिला भोटियाको अध्यक्षतामा सम्पन्न उक्त सभामा पार्टीका राज्यस्तरीय परिषद्का सदस्यहरू, जिल्ला तथा क्षेत्रीय तहका पदाधिकारीहरू, साथै विभिन्न क्षेत्रबाट आएका समर्पित कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सभाको प्रारम्भमा पार्टी अध्यक्ष अनुपस्थित रहेका अवस्थामा संगठनका उपाध्यक्ष किरण जिम्बाले कार्यकर्ताहरूलाई आ–आफ्नो भूमिकाप्रति जिम्मेवार, निष्ठावान् र सक्रिय रहन प्रेरित गर्दै पार्टीको सन्देश जन–जनसम्म पुर्‍याउने अभियानमा समर्पित हुन आग्रह गरे। उनले पार्टीलाई जनतामैत्री र जनअपेक्षाअनुकूल बनाउँदै सांगठनिक गतिशीलता कायम राख्न जोड दिँदै भारत निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक मतदान केन्द्रमा बूथ स्तरीय एजेन्ट नियुक्त गर्नुपर्ने विषयमा जानकारी गराए।

सभामा संगठन सचिव प्रकाश पराजुली, प्रशान्त बाबु छेत्री, महिला परिषद्का प्रतिनिधि रत्नकला सुबेदी र अञ्जु शर्माले क्रमशः संगठन सुदृढीकरण, पारदर्शिता, कार्यशैली सुधार, र कार्यकर्ताको मनोबल वृद्धिका विषयमा आफ्ना दृष्टिकोण प्रस्तुत गरे।

कार्यक्रमभरि गेजिङ जिल्लाभित्र रहेका सबै समष्टिहरूका भौगोलिक चुनौती, संगठनात्मक संरचना र जनसम्पर्क सञ्जालको प्रभावकारी विस्तारबारे गहिरो छलफल भयो। सहभागी कार्यकर्ताहरूले आफ्ना स्थानीय अनुभव साझेदारी गर्दै संगठनलाई अझ मजबुत बनाउने थुप्रै यथार्थपरक सुझावहरू पनि प्रस्तुत गरे।

यो सभा संगठन विस्तार, जनसरोकारमा संवाद तथा आगामी राजनीतिक रणनीतिहरू निर्माणका लागि साझा दृष्टिकोण तय गर्ने दिशानिर्देशक मञ्चका रूपमा अघि बढेको थियो। सभाले एकीकृत कार्ययोजना बनाउने प्रतिबद्धता समेत सार्वजनिकरूपमा प्रकट गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रमको समापन गर्दै पार्टीका उपाध्यक्ष (राजनीतिक मामिला तथा समन्वय) भूषण अधिकारीले सभामा उठेका सुझावहरूलाई समेट्दै भने, “यो सभा कुनै व्यक्तिविशेष वा दलको विरोधमा होइन, सिटिजन एक्सन पार्टीलाई अनुशासित, सशक्त र २०२९ को आम निर्वाचनमा विजयी बनाउने साझा लक्ष्यप्रति समर्पित रहेको हो।”

उनले सबै सहभागीप्रति आभार व्यक्त गर्दै संगठनात्मक एकता, अनुशासन र जिम्मेवारीप्रति कार्यकर्ताहरूको निरन्तर प्रतिबद्धता आवश्यक रहेको स्पष्ट सन्देश दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande