चान्दमारीको जीर्ण सडकको निरीक्षण, बीआरओले चाँडै मर्मतको कार्य शुरू गर्ने
चान्दमारीको जीर्ण सडकको निरीक्षण, बीआरओले चाँडै मर्मतको कार्य शुरू गर्ने


गान्तोक, 24 जून (हि.स.)। धेरै लामो समयदेखि जीर्ण अवस्थामा रहेको चान्दमारीस्थित गोसखान नजिकको सडकको आज सडक तथा पुल विभागका मन्त्री एनबी दाहाल, क्षेत्र विधायक तेजिङ लाम्टाले संयुक्त रूपमा निरीक्षण गरे। उक्त अवसरमा बीआरओका ब्रिगेडियर मनोज गुप्ता, अन्य वरिष्ठ अधिकारीहरू, सडक तथा पुल विभागका अभियन्ता, चान्दमारीका पार्षद लगायत अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

निरीक्षणपश्चात मन्त्री दाहालले जानकारी दिँदै उक्त सडक बीआरओको अधिकार क्षेत्रमा पर्ने भएकाले सडक एवं पुल विभागले प्रत्यक्ष हस्तक्षेप गर्न नसकेको बताए। तर, उनले बीआरओलाई चाँडै मर्मत कार्य अघि बढाउन निर्देशन दिइसकेको र अब निकट भविष्यमै काम शुरु हुने जानकारी दिए।

चान्दमारी सडकको निरीक्षणपछि सोही टोलीले रानीपुलदेखि 4-माइल जेएन रोडसँग जोडिने वैकल्पिक मार्गको सम्भावित साइटको पनि अवलोकन गर्‍यो। सो सडकको विस्तृत प्रस्ताव तयार पारेर भारत सरकारको रक्षा मन्त्रालयमा पठाइने र यदि मन्त्रालयबाट स्वीकृति प्राप्त भएमा रानीपुलदेखि सिधै 4 माइल जेएन रोड जोडिनेछ।

यो सडक निर्माण भएमा सेनाका सवारी साधनले गान्तोक हुँदै जानु नपर्ने र ट्राफिक जाम कम हुने मन्त्री दाहालले बताए। साथै, यसले पर्यटन क्षेत्रलाई समेत टेवा पुर्‍याउने उनको भनाइ थियो। यस विषयमा क्षेत्र विधायक तेजिङ लाम्टाले मुख्यमन्त्री पीएस तामाङसँग छलफल गरिसकेको जानकारी दिँदै मुख्यमन्त्री पनि यस प्रस्तावप्रति सकारात्मक रहेको बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande