
खरसाङ, 18 मार्च (हि.स.)। श्री राम महोत्सव समिति दार्जिलिङ खरसाङ शाखाको आयोजनामा श्री राम नवमीको अवसरमा खरसाङको गिद्ध पहाडस्थित श्री राम मन्दिरदेखि दार्जिलिङको महकाल मन्दिरसम्म पदयात्रा आयोजना गरिने भएको छ। उक्त जानकारी आज खरसाङमा आयोजित एक पत्रकार सम्मेलनमा श्री राम नवमी महोत्सव दार्जिलिङ खरसाङ शाखाका पदाधिकारीहरुले दिए।
पत्रकार सम्मेलनमा खरसाङ शाखाका अध्यक्ष पेम्बा रिम्पोर्छे, सचिव बिक्रम प्रसाद, कोषाध्यक्ष कैलाश गोयल, पण्डित केशव मिश्र, पण्डित पुरुषोत्तम अधिकारी, सदस्यहरु बिनय प्रसाद, चन्दन प्रसाद र अन्यहरु उपस्थित रहेका थिए।
श्री राम नवमी महोत्सव समिति दार्जिलिङको खरसाङ शाखाका अध्यक्ष पेम्बा रिम्पोर्छे र सचिव बिक्रम प्रसादले श्री राम नवमीको अवसरमा बिहान 6:30 बजीदेखि 7 बजी खरसाङको गिद्ध पहाडस्थित श्री राम मन्दिरबाट पदयात्रा शुरु भएर खरसाङ, सोनादा हुँदै जम्मा 40 किलोमिटरको पदयात्रा गरेर दार्जिलिङको महकाल बाबाको मन्दिरसम्म पुग्ने बताए। यस पदयात्रामा खरसाङ क्षेत्रका विभिन्न मठ मन्दिरहरुका पुजारी र सन्तहरु लगायत स्थानीयहरु सहभागी बन्नेछन्।
यसलाई तीर्थयात्राको रुपमा लिएर सामेल भइदिने अनुरोध पनि आयोजक समितिको तर्फबाट गरिएको छ। अयोध्याबाट ल्याइएको श्रीरामको चरण धुल, अमृत र ढुङ्गा पनि लिएर पदयात्रा गरिने भएकाले सबैले यसको दर्शन गर्न सक्ने साथै ठाउँ ठाउँमा सबैले पदयात्रीहरुलाई स्वागत गरिदिन पनि आह्वान् गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक