
खरसाङ, 18 मार्च (हि.स.)। खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिका विभिन्न स्थानहरु झैं सिविटार क्षेत्र पनि तीन दिनदेखि अँध्यारोमा डूबेको छ। गत सोमवारदेखि बिजुली आपूर्ति ठप्प बनेपछि सिविटारवासीहरूले मंगलवार र बुधवार पनि अँध्यारोमा बिताउनु पऱ्यो।
बुधवार राति समाचार लेख्दासम्म पनि बिजुली बत्तीको आपूर्ति भएको थिएन। सोमवार आएको आँधी हुरीले खरसाङ क्षेत्रमा बिजुली बत्तीको सर्वाराह ठप्प भएको छ। यद्यपि, खरसाङ बजार क्षेत्रमा भोलिपल्ट, मंगलवार दिउँसोदेखि बिजुली बत्तीको सर्वाराह शुरु भएको थियो। यसैगरी, महानदी, घैयाबारी क्षेत्रमा पनि बिजुली आपूर्ति भएको छ।
अर्कातिर, कमान बस्ती क्षेत्रमा पर्ने सिविटारमा भने तीन दिन बितेर जॉंदा पनि बिजुली बत्तीको सर्वाराह शुरु भएको छैन। यसरी तीन दिनसम्म बिजुली बत्तीको सर्वाराह नहुनु भनेको विभागीय हेलचेक्राई हो कि जनप्रतिनिधिहरुको निष्क्रियता हो भनी स्थानीयहरुले प्रश्न उठाएका छन्। स्थानीयहरुले यतिका दिनसम्म पनि बिजुली आपूर्ति सुनिश्चित हुन नसकेकोमा विभागप्रति रोष व्यक्त गरेका छन्।
बिजुली बत्तीको सर्वाराह ठप्प भएकाले धेरै महत्वपूर्ण कामहरू प्रभावित भएका छन्। फोनको चार्ज सकिएपछि स्कूटी र गाडीमा फोन चार्ज गर्नु पर्ने अवस्था आइपरेको छ। सिविटार क्षेत्रबाट धेरै जनप्रतिनिधिहरुका साथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु रहेता पनि कसैले यस समस्याको समाधानका लागि पहल नगेरेकोमा स्थानीयहरूले गुनासो पोखेका छन्।
स्थानीयहरु भन्छन्, बिजुली बत्तीको बील बुझाउन केही दिन ढिलो भयो भने फोनमा म्यासेज आउने गर्छ। लाइन काटिने चेताउनी दिॅंदै झट्टै बील तिर्नु लगाइन्छ। तर, तीन दिनसम्म बत्ती नहुँदा विभागले के गर्दैछ? साथै तीन दिनसम्म बिजुली बत्ती नहुँदा स्थानीय जनप्रतिनिधिहरु र विभिन्न राजनीतिक पार्टीहरुका प्रतिनिधिहरु कता हराए भनी स्थानीयहरुले प्रश्न तेर्साएका छन्।
हिन्दुस्थान समाचार / हनोक