
खरसाङ, 18 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को युवा शक्ति टाउन कमिटीले आज खरसाङमा एक सभा आयोजन गर्यो। बन्धन लामाकाे अध्यक्षता सम्पन्न गरिएको सभामा भागोप्रमो केन्द्रिय समिति अध्यक्ष अनित थापा विशेष रूपमा उपस्थित थिए।
सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष अनित थापाले भने, कसैलाई गाली गरेर अघि बढ्ने, गाली गर्ने संस्कार ममा छैन। म सरकारसँग मिलेर काम गर्छु। पहाड शान्ति राख्नु मेराे जिम्मेवारी हाे। तपाईहरु पनि यो अभियानमा लागिपर्नु हाेस्। विगतका नेताहरूले युवाहरुलाई माेहरा मात्र बनाए। अबका युवाहरु अशान्ति गर्ने दिशामा जानु हुदैँन। आवेशमा आएर केही नराम्रो काम गर्नु हुदैँन। म वचन दिएपछि काम गरेर देखाउने नेता हुॅं। म झुक्याएर काम गर्दिन। जे सत्य हाे त्यो कुरा गर्छु।
उनले भने, हामी कहाँ कमजोर छौँ, उक्त ठाउँमा हामी भाेलिदेखि नै संगठन विस्तारमा लागिपर्ने छाैँ। पार्टीका उम्मेदवार अमर लामालाई बिपुल मत दिलाउन हामी युवा शक्ति टोली हरेक बुथमा गएर सभाहरु साथै चुनाउ प्रचारमा पनि सहभागीता जनाउने छाैँ।
यसरी नै यटाउन मूल सचिव बिरबल पाख्रीनले भने, युवा भनेकाे पहाडकाे भविष्य हाे। युवाहरुकाे हरेक क्षेत्रमा भागीदारी हुनु जरुरी छ। राजनीतिमा पनि, सामाजिक कार्यमा पनि, संगठन बलियो बनाउन हेतु टाउन कमिटीले जे सहयाेग गर्नुपर्छ हामी गर्नेछाैं। तपाईहरुकाे सहभागीता हरेक बुथ कमिटीमा रहनु पर्नेछ। 1 देखि 20 सम्म अहिले चुनाउ प्रचारमा हामी लागिपरेका छाैं। हजुरहरु पनि यस कार्यमा सम्मिलित हुनुपर्छ।
यसरी नै खरसाङ टाउन कमिटी चुनाउ प्रभारी सबिता कार्कीले भनिन्, युवारु हरेक क्षेत्रहरुमा जानुपर्छ। पहाड शान्तिपूर्ण राख्न युवाहरूको ठूलाे भुमिका छ। विगतका दिनहरूमा युवाहरूले झेल्नु परेका दु:खहरु हामीले नजिकबाट देखेका छाैँ। कति केसहरु लागे, कति शहीद भए। अब यस प्रकारकाे कार्य दार्जिलिङ पहाडमा हुनदिनु हुँदैन।
भागाेप्रमो केन्द्रिय सदस्य एवं खरसाङ महकुमा चुनाउ प्रभारी समीरदिप ब्लोनले भने, आजका युवाहरूको भिड सचेत युवाहरुकाे भिड हाे। जागरुक युवाहरूको भिड हाे। हामी पनि युवा संगठनदेखि नै राजनीति गर्दै आएका हाैँ। हामी पहाडीलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौं। हाम्रो पार्टीकाे खरसाङकाे उम्मेदवार महासचिव अमर लामा हाे। हामीले अनुभवी उम्मेदवार पाएका छाै। युवा शक्ति अब चुनाउ प्रचारमा लाग्नुपर्छ।
सभामा सभासद श्याम शेर्पाले भने, विधानसभा चुनाउको उम्मेदवार घाेषणा भइसकेकाे छ। हरेक वार्डमा विगतकाे तुलनामा युवाहरूको सहभागीता धेरै छ। पार्टीलाई विश्वास गरेर हरेक दिन युवाहरूले सम्पर्क गरिरहेका छन्।
हिन्दुस्थान समाचार / हनोक