गान्तोक, 24 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी), सिक्किम नेपाली लघुकथा साहित्यमा योगदान पुर्याउँदै आएका तुमिन निवासी प्राज्ञ, सर्जक हेमराज अधिकारीलाई ‘हेमलता स्मृति लघुकथा सम्मान–२०८२’ प्राप्त भएकोमा हार्दिक बधाई तथा सम्मान व्यक्त गरेको छ।
‘नमस्ते आधुनिक लघुकथा मञ्च, राप्तीनगरपालिका चितवन’ द्वारा दिवंगत स्रष्टा हेमलता उप्रेतीको स्मृतिमा स्थापित यो सम्मान सीमापार नेपाली भाषी स्रष्टाहरूको मौलिक योगदानलाई उजागर गर्नेसाथै उनीहरूको सिर्जनशीलतालाई राष्ट्रिय सन्दर्भमा सम्बोधन गर्ने एउटा महत्वपूर्ण प्रयास रहेको सीएपी सिक्किमले आज विज्ञप्तिमा बताएको छ।
सीएपीले भनेको छ, हेमराज अधिकारीको लेखनमा ग्रामीण जीवनको यथार्थ, सामाजिक चेतना, र मानवीय संवेदनाका पक्षहरूलाई गहिरो समवेदना र सशक्त दृष्टिकोणले प्रस्तुत गरिएको पाइन्छ। उहाँको प्रतिबद्धता, रचनाशीलता र सीमापार साहित्यिक जागरणमा देखिएको सक्रियताले सम्पूर्ण नेपालीभाषी समाजलाई गौरवान्वित तुल्याएको छ।
सीएपी साहित्य, भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई सामाजिक चेतनाको मेरुदण्ड मान्दछ। हेमराज अधिकारीजस्तो स्रष्टाको सम्मानले सिक्किम र सम्पूर्ण सीमापार नेपाली समुदायका लागि प्रेरणाको स्रोत बन्नेछ भन्ने विश्वास हामीले लिएका छौँ।
हिन्दुस्थान समाचार / बिशाल