पवन चामलिङले एसकेएम सरकारमाथि लगाएका आरोपहरू असत्य र आधारहीन: एसकेएम
एसकेएम


गान्तोक, 24 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले पार्टीको हालैमा सम्पन्न 33औं सम्पूर्ण क्रान्ति दिवसमा वर्तमान सरकरमाथि लगाएका आरोपहरूको सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले कडा शब्दमा खण्डन गरेको छ। अर्कोतिर, कार्यक्रममा चामलिङले आफ्नो सम्बोधन अभद्र ढङ्गमा राखेको भन्दै एसकेएमले तीव्र आलोचना गरेको छ।

एसकेएम प्रवक्ता जेकब खालिङले गत 22 जूनका दिन एसडीएफको सम्पूर्ण क्रान्ति दिवसमा पार्टीका अध्यक्ष पवन चामलिङले एसकेएम सरकारमाथि लगाएका आरोपहरू असत्य र आधारहीन रहेको ठहर गरे। कार्यक्रममा चामलिङले बोलेका कुराहरूको कुनै औचित्य समेत नरहेको उनले आज राजधानीस्थित एसकेएम मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताए।

प्रवक्ता खालिङले चामलिङका आरोपहरू जनताको अदालत र कानूनको अदालतमा टिक्न सक्दैन भन्दै चामलिङले आफ्नो सम्बोधनमा केवल कुण्ठा पोख्ने काम गरेको बताए। एसडीएफ अध्यक्षले एसकेएम सरकारमा स्वास्थ्य क्षेत्रमा भएका कार्यहरूको खिल्ली उडाएकोमा उनले कडा शब्दमा भत्सर्ना जनाए। एसकेएम सरकारले आफ्नो छह वर्षको कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै ठूलो काम गरेको उनले दाबी गरे। उनले राज्यको स्वास्थ्य क्षेत्रमा कायापलत भएको दाबी गर्दै पहिले सामान्य डायलिसिसको निम्ति सिलगढी अथवा कोलकाता जानु पर्थ्यो भने अहिले डायलिसिसको सुविधा राज्यमै उपलब्ध रहेको बताए।

अर्कोतिर, प्रवक्ता खालिङले एसडीएफ अध्यक्ष चामलिङमाथि आफ्नो भाषण अभद्र ढङ्गमा राखेको आरोप पनि लगाए। उनले पवन चामलिङ एक असल नेता र एक असल मुख्यमन्त्री त बन्न सकेनन्, तर उनी एक असल पिता पनि बन्न सकेनन् भनी तीव्र आलोचना गरे। चामलिङले आफ्नी छोरीको उपस्थितिमा माइकमा थुक्ने काम गरेको बताउॅंदै उनले यस्तो आरोप लगाए।

यस अघि प्रवक्ता बिकास बस्नेतले एसडीएफ अध्यक्ष चामलिङमाथि सिक्किमेली जनमानसमा भ्रम फैलाउने काम गरिरहेको आरोप लगाए। उक्त दिनको कार्यक्रममा चामलिङले जनगणना र राज्य सरकारले लिएको ऋणलाई लिएर भ्रमक बयान दिएको उनले आरोप लगाए। एसडीएफ अध्यक्षले आगामी जनगणनामा नेपाली समुदायलाई गाह्रो छ, जनगणनामा खसलाई कसरी अटाउने जस्ता कुराहरू गरेर आफ्नो तुच्छ मनसाय व्यक्त गरेको उनले आरोप लगाए।

प्रवक्ता बस्नेतले खस समुदायप्रति पवन चामलिङको हेर्ने दृष्टि कहिल्यै राम्रो थिएन भनी आरोप लगाए। एसडीएफ शासनमा खस समुदायले धेरै थिचोमिचोमा बस्नु परेको सत्य जगजाहेर रहेको पनि उनले दाबी गरे। उनले जनगणना खस समुदायकै रूपमा हुनेछ भनी विश्वास दिलाए। यसैगरी, उनले सरकारले लिएको लोनलाई लिएर पनि एसडीएफ अध्यक्षले भ्रामक बयान दिएको आरोप लगाउॅंदै सरकारले वित्त कानून र एफआरबीएम कानून अन्तर्गत लोन लिएको स्पष्ट पारे।

यस अघि एसकेएम प्रवक्ताहरू संजय राई, कृष्ण लेप्चा र योगन तामाङले पनि एसडीएफ अध्यक्षले सम्पूर्ण क्रान्ति दिवसमा लगाएका आरोपहरूको खण्डन गर्दै आ-आफ्नो तर्क प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande