सिक्किमले पनि आपतकालको दमनकारी उपायहरू झेल्नु पऱ्यो: निरेन भण्डारी
सिक्किमले पनि आपतकालको दमनकारी उपायहरू झेल्नु पऱ्यो: निरेन भण्डारी


गान्तोक, 25 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज आफ्नो गान्तोकस्थित शहर कार्यालयमा 25 जून, 1975 मा लगाइएको आपतकालको 50औं वर्षगॉंठको अवसरमा संविधान हत्या दिवस पालन गऱ्यो, जसलाई भारतीय लोकतन्त्रमा कालो अध्यायको रूपमा स्मरण गरिन्छ। कार्यक्रममा प्रदेश भाजपा उपाध्यक्ष दिनेशचन्द्र नेपाल, मिडिया प्रभारी निरेन भण्डारी, गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा, संयोजक साङ्गे पल्जर लगायत पार्टीका प्रमुख नेताहरू, कार्यकारीहरू, मण्डल अध्यक्षहरू र कार्यकर्ताहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मिडिया प्रभारी निरेन भण्डारीले आपतकालको भयानक इतिहास र सिक्किमसहित भारतभरि यसको गहिरो प्रभावमाथि प्रकाश पारे। उनले सिक्किम मई 1975 मा मात्र भारतीय संघमा विलय भएको भने त्यसको लगत्तै सिक्किम आपतकालको दमनकारी उपायहरूको शिकार भएको थियो भनी बताए। भण्डारीले स्वर्गीय अटल बिहारी वाजपेयी, एलके आडवाणी, नरेन्द्र मोदी लगायत जनसंघका नेताहरूको अथक संघर्षको सम्झाना गरे, जसले लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षा गर्न निरंकुश शासनको विरुद्धमा साहसपूर्वक आवाज उठाएका थिए।

मिडिया प्रभारी भण्डारीले सबै कार्यकर्ताहरूलाई लोकतान्त्रिक मूल्यहरूलाई दृढतापूर्वक कायम राख्न र आपतकालको कालो दिन कहिल्यै नदोहोरियोस् भनेर सुनिश्चित गर्न आग्रह गरे। उनले यस्तो संकट दोहोरिन नदिन भारतको लोकतान्त्रिक सिद्धान्तहरूको रक्षा गर्ने महत्त्वमा जोड दिए।

भारतीय संविधानमा निहित लोकतान्त्रिक सिद्धान्तहरूको रक्षा र सुदृढीकरण गर्ने भाजपा सिक्किमको प्रतिज्ञाका साथ कार्यक्रमको समापन भयो। पार्टीले नागरिकहरूलाई राष्ट्रको लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास विरुद्ध सतर्क रहन र ती कालो दिनहरूमा स्वतन्त्रताको लागि लड्नेहरूको विरासतलाई सम्मान गर्न आग्रह गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande