सोनादा, 25 जून (हि.स.)। सोनादा पुलिसले फेरि नशाखोर विरुद्ध अभियान चलाउॅंदै स्थानीय 5 जनालाई पक्राउ गरेको छ। दार्जिलिङ जिल्ला पुलिस अधीक्षकको निर्देशनमा सोनादा आउटपोस्ट पुलिसले अभियान चलाएर युवाहरूलाई पक्राउ गरेको हो। पक्रा परेका युवाहरूलाई आज दार्जिलिङ जिल्ला अदालतमा चलान गरिएको छ।
सोनादालाई ड्रग्समुक्त बनाउन पुलिसको पहललाई स्थानीय गाउँ समाजले पनि सहयोग गर्नु नितान्त आवश्यक देखिएको छ। किनभने यस क्षेत्रमा विस्तारै यस प्रकारका नशाखोरहरू बढ्दै गइरहेका छन्, जो अति चिन्ताको विषय बनेको छ। विशेष गरेर यहाँको युवा जमात र युवा अवस्थामा पाइला टेकिरहेका किशोर किशोरीहरू यसको शिकार बन्न पुग्छन्।
समाज र देश जति उन्नतिशील बन्दै गयो त्यति नै समाजमा विश्रृङ्खलता बढ्दै गइरहेको छ। आजको परिस्थिति र परिवेशमा हाम्रो समाजमा अशिक्षित एकदमै कम पाइन्छ। आजको परिस्थितिमा जति समाज, जाति सभ्य र शिक्षित बन्दै गयो त्यति नै ठूलाहरूको सम्मान, डर र संस्कार हराउँदै गइरहेछ। यस प्रकारको रोगबाट समाजलाई अक्षुण्ण राख्न सोनादा पुलिस प्रशासनले चालेको कदमलाई सराहना गर्न मात्र होइन पूर्णरूपमा सहायता गर्नु पर्ने देखिएको छ।
योभन्दा पहिला पनि सोनादा पुलिसले ड्रग्स विरोधी अभियानमा ड्रग्स ओसार पसारको आरोपमा धेरैलाई पक्राउ गरिसकेको छ र ड्रग्समुक्त बनाउन रिह्याब सेन्टरमा पनि पठाइसकेको छ।
हिन्दुस्थान समाचार / हनोक