ईपीएफ र ई पेन्शनको‌ लागि अनित थापा र सभासद राजेस चौहानप्रति आभार प्रकट
ईपीएफ र ई पेन्शनको‌ लागि अनित थापा र सभासद राजेस चौहानप्रति आभार प्रकट


खरसाङ, 25 जून (हि.स.)। जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक शिक्षिकाहरुका लागि ई—पेन्शन र ई—पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन खरसाङ क्षेत्र समितिद्वारा धन्यवाद प्रकट गरिएको छ।

संगठनको खरसाङ क्षेत्र समितिका सभापति आरती राई, सचिव अशोक प्रधान, केन्द्रीय सदस्य बिनोद परियार, बोर्ड सदस्य विशाल शर्मा लगायत अन्यहरुले खरसाङमा‌ पत्रकार सम्मेलन बोलाएर ई—पेन्शन र ईपीएफ शुरु गरेकोमा जीटीए प्रमुख अनित थापा र प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्।

हिल तराई प्राथमिक शिक्षक संगठन खरसाङ क्षेत्र समितिको सचिव अशोक प्रधानले जीटीएको शिक्षा विभागले शिक्षकहरुको दु:ख र मर्म बुझेर शिक्षक शिक्षिकाहरुका लागि ई—पेन्शन र ईपीएफको सुविधा शुरु गरेकोमा खुशी व्यक्त गरे। उनले पहिले शिक्षक शिक्षिकाहरुले पीएफ र पेन्शनको लागि धेरै दुःख भोग्नु परिरहेको थियो भने यो काम‌ हुनलाई झण्डै एक वर्ष लाग्ने गर्दथ्यो। तर, अब ई—पेन्शन र ईपीएफ भएपछि झट्टै हुने र यसको लागि कुदिरहनु नपर्ने उनले बताए। उनले यस कार्यको लागि जीटीए प्रमुख कार्यपाल अनित थापा र सभासद राजेस चौहानप्रति आभार प्रकट गरे।

बोर्ड सदस्य विशाल शर्माले भने, पहिला हातमा बोकेर दार्जिलिङ कार्यालय जानु पर्थ्यो र दार्जिलिङबाट पोस्ट भएर उत्तरकन्या जाने हुनाले यो काम हुन झण्डै एक वर्ष लाग्ने गर्दथ्यो।‌ तर अहिले ई—पोर्टलमार्फत् एक क्लिकमा नै दार्जिलिङबाट‌ उत्तरकन्या पुग्ने र शिक्षक शिक्षिकाहरुले लगभग 10-15 दिनभित्रमा नै सहुलियत पाउने छन्। यो प्राथमिक शिक्षामा मात्र होइन, तर हाई स्कूलका शिक्षक शिक्षिकाहरुलाई पनि लागू हुनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande