खरसाङ, 25 जून (हि.स.)। खरसाङ नगरपालिका क्षेत्रको सर्वाङ्गिण विकास र विभिन्न विषयहरूको अध्ययन गर्न खरसाङ नगरपालिकाको टोली हाल दिल्ली भ्रमणमा रहेको छ। यसै क्रममा यस टोलीले बुधवार ग्यासद्वारा शव जलाउने ग्यास आधारित क्रिमेटोरियम निर्माण विषयमा विभिन्न विभागका अधिकारीहरुसित भेटघाट गरेको छ।
विशेष गरेर खरसाङ शहरलाई प्रदुषणमुक्त बनाउन एवं पर्यावरणको संरक्षण गर्न विभागीय पहलका साथै सम्पूर्ण जनसाधारणको पनि उतिकै दायित्व रहन्छ भन्ने विषयलाई ध्यानमा राख्दै खरसाङ शहरमा ग्यासद्वारा शव जलाउने क्रिमेटोरियमको आवश्यकता महसुस गरिॅंदै थियो।
अर्कोतिर, वर्तमान महॅंगाईको समयमा कुनै पनि परिवारलाई अन्तिम संस्कार गर्न आर्थिक संकट झेल्नु नपरोस् भन्ने सोच लिएर पनि खरसाङ नगरपालिकाले ग्यास आधारित क्रिमेटोरियम बनाउन कम्मर कसेको छ। यस सम्बन्धमा थप जानकारी बटुल्न खरसाङ नगरपालिकाको टोली दिल्ली भ्रमणमा गएको हो।
दिल्लीमा ग्यास आधारित क्रिमेटोरियमको निरीक्षणसँगै पर्यावरणको संरक्षण र प्रदुषणमुक्त गाउँ समाजमा सुनिश्चित गर्ने दिशामा सम्बन्धित निकायहरूसँग सरसल्लाह परामर्श गरिरहेको खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराएका छन्। दिल्ली जाने टोलीमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, कार्यकारी अधिकारी कैलाश प्रसाद लगायत अन्यहरु रहेका छन्।
हिन्दुस्थान समाचार / हनोक