महानदीदेखि सिविटार जाने रोडमा पैह्रो: पञ्चायत र सम्बन्धित विभागबाट निरीक्षण
महानदीदेखि सिविटार जाने रोडमा पैह्रो: पञ्चायत र सम्बन्धित विभागबाट निरीक्षण


खरसाङ, 25 जून (हि.स.)। खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारी जाने सडकमा पैह्रो गएपछि बुधवार सम्बन्धित विभागका अधिकारीहरु र महानदी ग्राम पञ्चायतको प्रधान, पञ्चायत समिति सदस्य र पञ्चायत सदस्यद्वारा पैह्रो क्षेत्रको निरीक्षण गरियो। महानदीदेखि सिविटार जाने रोड अन्तर्गत गैरी गाउँ पुग्ने बेलामा सडकको आधा भाग मंगलवार राति पैह्रोले लगेपछि गाडीहरु कुदाउन जोखिमपूर्ण बनेको थियो।

उक्त पैह्रोको निरीक्षण गर्न खरसाङबाट डब्ल्युबीएसआरडीए विभागबाट सहायक अभियन्ता विशाल प्रधान, एसएई मन्डुप लामा साथै महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्य कुसाङ लामा र पञ्चायत सदस्य राजीव तामाङ आदिले निरीक्षण गरेर पञ्चायतको तर्फबाट पोलिथिन लगाएर ढाक्ने काम गरिएको छ।

प्राप्त जानकारी अनुसार, महानदीको जिरोदेखि सिविटार कोठीडाँडासम्मको सडक मरमत्तिको‌ कार्य आगामी जुलाईदेखि शुरु हुने भएको छ।‌ मरमत्तिको कार्य पूरा नभएसम्म यो पैह्रो क्षेत्रबाट ठूला गाडीहरु कुदाउन निषेध गरिएको छ भने साना गाडीहरूलाई पनि सावधानीपूर्वक कुदाई दिने अनुरोध गरिएको छ।

त्यसरी नै सिविटारमा‌ चलिरहेको जल‌ जीवन मिशनको ठुल्ठुला गाडीहरु चलाउन बन्द गरिएको साथै आपतकालीन अवस्थामा राशन र अन्य बोक्ने पिकअप भ्यानहरुलाई सदाको भन्दा कम‌ लोड लिएर कुदाइदिन अनुरोध गरिएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले सिविटार जाने रोडमा पैह्रो गएपछि आफुहरु पैह्रो निरीक्षणको लागि पुगेर पञ्चायतको तर्फबाट पोलिथिन लगाएर छोप्ने कार्य गरिएको बताए। उनले यो‌ रोडको‌ मरमत्ति कार्य र फराकिलो बनाउने कार्य आगामी जुलाईदेखि शुरु हुने भएको सम्बन्धित विभागले जानकारी गराएको‌ पनि जानकारी गराए।

उनले यो पैह्रो भएर ठूला गाडीहरु नकुदाई दिन अनुरोध गरिएको साथै आपतकालीन अवस्थामा राशन पानी बोक्ने गाडीहरुले पनि सदाको भन्दा केही कम लोड बोकिदिन अनुरोध गरेका छन्। उनले सम्पूर्ण चालकहरुलाई यहाँबाट सावधानीपूर्वक गाडी चलाइदिने अनुरोध गरे।

पञ्चायत सदस्य राजीव तामाङले मंगलवार राति पैह्रो गएको खबर सुन्नासाथ पैह्रोको निरीक्षण गरेर पञ्चायत प्रधानलाई जानकारी गराएको र बुधवार निरीक्षणमा‌ पनि गरिएको जानकारी गराए। उनले सबैलाई यस पैह्रो भएर सावधानीपूर्वक गाडी चलाई दिने अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande