साखुखानी सरकारी प्राथमिक पाठशालामा गुरु पूजन एवम् सम्मान कार्यक्रम सम्पन्न
साखुखानी सरकारी प्राथमिक पाठशालामा गुरु पूजन एवम् सम्मान कार्यक्रम सम्पन्न


गान्तोक, 25 जून (हि.स.)। साखुखानी सरकारी प्राथमिक पाठशालामा आज पूर्व विद्यार्थीहरूको सक्रियता र विद्यालय परिवारको सहयोगमा पाठशालाका स्थापनाकालको दसकदेखि दीर्घकालसम्म स्थायी रुपमा शिक्षण पेशामा जीवन समर्पित गर्ने गुरुजनका निम्ति ‘गुरु पूजन एवम् सम्मान कार्यक्रम’ आयोजना गरियो। यस कार्यक्रममा अतिथिहरू, पाठशालाकी प्रधान अध्यापिका, शिक्षक-शिक्षिका, वर्तमान विद्यार्थीगण, विद्यालय प्रबन्धन कमिटी एवम् पूर्व विद्यार्थीगणको उपस्थिति थियो।

कार्यक्रममा पाठशाला संस्थापक एवम् प्रथम कमिटी शिक्षक चुडामणि ढकाल, दोस्रो कमिटी शिक्षक एवं पहिलो स्थायी शिक्षक हरिभक्त पोख्रेल, पहिलो शिक्षिका इन्दु सुवेदी, पहिलो प्रधान अध्यापक भक्तिनन्द पोख्रेल लगायत शिक्षक परशुराम राई र शिक्षक बिर्ख बहादुर राईको वरण पश्चात पुष्प वर्षाद्वारा चरणदेखि शिरसम्म पूजन गरेर गुरु महिमा स्तोत्र गायन गरियो। यसपछि, गुरुजनले पाठशालाको गठन एवम् शिक्षणप्रति दिएको अतुलनीय योगदानको कदर गर्दै दोसल्ला, अङ्ग वस्र, रजत सिक्का, सम्मान पत्र र गुरु दक्षिणा अर्पण गरेर अभिनन्दन गरियो।

यसरी नै पाठशालाका प्रथम विद्यार्थीद्वय थलाराम ढकाल र दिल्लीराम विश्वकर्माले पछि यसै पाठशालाको शिक्षक भएर दिएको योगदानको कदर गर्दै स्मृति चिह्न भेट गरियो भने पाठशालाको अभिभावकको रूपमा गठनकालदेखि अविरल रूपमा निःस्वार्थ सहयोग गरे बापत दम्पती रामप्रसाद धिमाल र मनमाया ढकाललाई पनि सम्मान एवम् कृतज्ञता पत्र अर्पण गरियो। सेवानिवृत्त प्राचार्य केपी सुवेदीलाई पनि शिक्षक र समाज सुधारक रूपमा उनको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरियो।

वक्तव्यको क्रममा सम्मानित गुरुजनले यस्तो अनुपम कार्यक्रम आयोजना गरेकामा धन्यवाद दिँदै सेवानिवृत्तिको वर्षौंपछि त्यही पाठशालामा आएर पुरानो याद ताजा गराउँदै सम्मानित हुन पाउँदा हर्ष प्रकट गरे।

कार्यक्रमको शुरुमा कार्यक्रम समन्वयकका तरफबाट सम्बोधन गर्दै पूर्व विद्यार्थी त्रिभुवन ढकालले गुरु पूजन एवम् सम्मान कार्यक्रमको उद्देश्यको जानकारी दिँदै हाम्रो शिक्षाको घड़ेरी बसाउने महान कार्य प्राथमिक तहका शिक्षक–शिक्षिकाले गरेका हुन्छन् भनी बताए। यसैले उनीहरूलाई माता-पिता सरह पूजन गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रमको अवधीमा पाठशालाका विद्यार्थीवर्गले रंगारंग संस्कृतिक कार्यक्रम र बाल गीतले सबैलाई मन्त्रमुग्द बनाएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande