राजनीतिक नियन्त्रणलाई कायम राख्नको लागि आपतकाल लगाइयो: मुख्यमन्त्री
राजनीतिक नियन्त्रणलाई कायम राख्नको लागि आपतकाल लगाइयो: मुख्यमन्त्री


गान्तोक, 25 जून (हि.स.)। राज्यको छवटै जिल्लामा आज संविधान हत्या दिवस पालन गरियो। राजधानीमा पालन गरिएको संविधान हत्या दिवसमा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि सहभागी बने। यस अवसरमा एमजी मार्गबाट मनन केन्द्रसम्म ऱ्याली निकालियो, जसमा मुख्यमन्त्री लगायत सिक्किम विधानसभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रीगण, विधायकगण, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू आदि सहभागी बने।

मनन केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले 25 जून, 1975 मा लागू गरिएको आपतकालमा राजनीतिक नियन्त्रणलाई कायम राख्नको लागि संविधानलाई सीमित गर्ने कार्य गरिएको थियो भनी बताए। उनले आधिकारिक कारणहरू आन्तरिक अस्थिरता र राष्ट्रिय सुरक्षा बताइएको भए तापनि ऐतिहासिक अभिलेखहरूमा यसको मुख्य उद्देश्य असहमतिलाई दबाउनु र शक्ति केन्द्रीकृत गर्नु थियो भन्ने स्पष्ट हुॅंदछ भने।

उनले 21 महिनाको अवधिमा हिरासतमा परेका, सताइएका वा प्रभावित भएका राजनीतिक नेताहरू, कार्यकर्ताहरू र नागरिकहरूप्रति सम्मान व्यक्त गरे। उनले भने, संविधान, जसले प्रत्येक नागरिकलाई मौलिक अधिकार प्रदान गर्दछ, त्यस समयमा उल्लेखनीय रूपमा कमजोर पारिएको थियो। उनले यस अवधिले जनताको लचिलोपन र लोकतान्त्रिक मूल्यहरूको सहनशीलताको परीक्षा लिएको थियो भनी बताए।

मुख्यमन्त्रीले संविधान सर्वोच्च कानून हो र यसलाई अक्षरशः र भावनात्मक रूपमा पालना गरिनुपर्छ भने। उनले भने, संविधानले अधिकार प्रदान गर्दछ, तर यसले कर्तव्यहरू पनि निर्धारित गरेको छ, जुन नागरिकहरूले जिम्मेवारीपूर्वक पूरा गर्नुपर्छ। उनले भारतीय संघको 22 औं राज्यको रूपमा सिक्किमको प्रवेशको सम्झाना गर्दै शिक्षक, युवा नेता र नागरिक समाजका सदस्यहरूलाई आपतकाल र यसको परिणामहरूको बारेमा जागरूकता जगाउन आग्रह गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande