मुख्यमन्त्रीद्वारा असार १५ को समस्त सिक्किमेली जनसमुदायप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त
आसार १५


गान्तोक, 29 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले असार १५ को पावन अवसरमा समस्त सिक्किमेली आमा-बाबा, दाजुभाई तथा दिदीबहिनीहरूलाई, साथै यस चाडसँग सम्बन्धित विश्वका विभिन्न स्थानहरूमा बसोबास गर्ने जनसमुदायप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा भने, हाम्रो परम्परागत कृषि संस्कृतिमा असार १५ ले एक विशिष्ट सांस्कृतिक, सामाजिक र आर्थिक महत्व बोकेको छ। धान खेतीको मुख्य मौसम प्रारम्भ हुने यस दिनलाई हामीले परम्परागत रूपमा उल्लासपूर्वक, गीत-सङ्गीत, आपसी सहयोग र माटोसँगको आत्मीय सम्बन्धमार्फत मनाउँदै आएका छौँ। रोपाइँको परम्परा केवल कृषि कर्म मात्र नभई सामूहिकता, परिश्रम र संस्कृति प्रतिको श्रद्धा प्रकट गर्ने अवसर पनि हो।

उनले भने, सिक्किमको नेपाली समुदायसहित अन्य समुदायहरूले पनि यस चाडमार्फत आपसी सद्भाव, सहकार्य र सहिष्णुता प्रवर्द्धन गर्दै आएकाले असार १५ राज्यको साझा सांस्कृतिक सम्पदाको प्रतीक बन्न पुगेको छ। यस दिन दही-चिउरा खाने चलन हाम्रो जीवनशैलीसँग गाँसिएको परम्परा हो, जसले हाम्रा पुर्खाहरूको श्रमशीलता, समयको सदुपयोग र कृषि कर्मप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।

मुख्यमन्त्रीले भने, आजको दिन हामी सबैका लागि हाम्रो कृषि सभ्यता, कृषकहरूको अथक परिश्रम, र धानजस्ता मुख्य खाद्य बालीप्रति सम्मान व्यक्त गर्ने सन्देश बोकेको अवसर हो। वर्तमान समयमा कृषि प्रणालीलाई वैज्ञानिक, वातावरणमैत्री र आत्मनिर्भर बनाउँदै उत्पादनशीलता बढाउने दिशामा हामी सबैले साझा प्रतिबद्धता जनाउन आवश्यक छ।

उनले यस अवसरमा समस्त कृषक समुदायप्रति हार्दिक सम्मान प्रकट गर्दै, उत्कृष्ट धान उत्पादनसहित विविध कृषि उपजमा अभूतपूर्व सफलताको शुभकामना व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande