मुख्यमन्त्रीले ग्वाला दिवसको राज्यवासीहरूलाई दिए हार्दिक बधाई एवं शुभकामना
मुख्यमन्त्री प्रेमसिंह तामाङ


- किसानहरूको अथक प्रयास हाम्रो कृषि शक्तिको मेरुदण्ड हो: मुख्यमन्त्री

गान्तोक, 01 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले ग्वाला दिवस 2025 को सिक्किमका जनतालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले यो दिन हाम्रा किसान र गोठालाहरूको अटल समर्पण, लचिलोपन र अमूल्य योगदानप्रति सम्मानको प्रतीक रहेको बताएका छन्, जसले अप्रत्याशित मौसम र विषम चुनौतीहरूको सामना गर्दै अथक परिश्रम गर्छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा भने, किसानहरूको अथक प्रयास हाम्रो कृषि शक्तिको मेरुदण्ड हो र समाजको लागि नि:स्वार्थ सेवाको उच्चतम आदर्शलाई प्रतिबिम्बित गर्दछ। 2020 मा ग्वाला दिवसको घोषणा देशको एक ऐतिहासिक उपलब्धि थियो, जुन प​रिश्रमी ग्वाला सदस्यहरूको सम्मानमा स्थापित गरिएको थियो। प्राकृतिक खेती र पशुपालनलाई अँगाल्ने हाम्रो कृषि समुदायले भारतलाई विश्वव्यापी दूध उत्पादनको अग्रपंक्तिमा उभ्याएको छ।

मुख्यमन्त्रीले भने, सिक्किममा हामीले हाम्रो कृषि समुदायलाई सम्मान र सशक्त बनाउन सक्रिय कदम चालेका छौं। ग्वाला दिवस र मिल्क पर्सन अफ् द इयर अवार्ड जस्ता पहलहरूले उनीहरूको अमूल्य सेवालाई स्वीकार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यसका साथै, राज्यका तीन उत्कृष्ट प्रदर्शन गर्ने दुग्ध सहकारी संस्थाहरूलाई ₹10 लाख, ₹7 लाख र ₹5 लाखको नगद पुरस्कार डेरी क्षेत्रको लागि वरदान बनेको छ, जसले उत्कृष्टतालाई प्रोत्साहन गर्दछ र विकासलाई बढावा दिॅंदछ। उनले राज्यका दुग्ध उत्पादक किसानहरूलाई प्रति लिटर ₹8 को दूध प्रोत्साहन देशकै उच्चतम रहेको बताएका छन्।

सिक्किम मिल्कले 2024-25 मा दूध खरिदमा 26% वृद्धि रेकर्ड गऱ्यो, जुन देशकै उच्चतम रहेको मुख्यमन्त्रीले बताएका छन्। भारत सरकारको पशुपालन तथा दुग्ध विकास सचिवको अध्यक्षतामा 22 अप्रेल, 2025 मा नयाँ दिल्लीमा आयोजित राष्ट्रिय दुग्ध स्थिति बैठकमा यो उपलब्धिलाई स्वीकार गरिएको उनले जानकारी गराएका छन्। उनले उपलब्धि हाम्रा दुग्ध किसानहरू, सहकारीहरू र समर्पित अधिकारीहरूको अथक परिश्रम र सहकार्यको प्रमाण रहेको जनाएका छन्।

मुख्यमन्त्रीले मिल्क म्यान अफ् द इयर र उत्कृष्ट दूध उत्पादक सहकारी संस्थाहरूलाई हार्दिक बधाई दिएका छन्। यसैगरी, उनले कृषि तथा पशुपालन मन्त्री पुरण गुरुङ, सिक्किम सहकारी दुग्ध उत्पादक संघका अध्यक्ष यमकुमार शर्मा, पीडी तथा सचिव डा. शर्मन राई, प्रबन्ध निर्देशक डा. टीबी घतानी लगायत समर्पित विभागीय अधिकारीहरू र सबै अग्रपंक्तिका कर्मचारीहरूलाई उनीहरूको दृढ प्रयासको लागि हार्दिक धन्यवाद र शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande