सन्देशखाली, 10 जुलाई (हि. स.)। रायमंगल नदीको किनारमा अवस्थित सन्देशखालीको आतापुर खियाघाटको अवस्था जीर्ण भइसकेको छ। स्थानीय मानिसहरूले वर्षौंदेखिको यहाँ पक्का घाट निर्माण गर्ने माग गर्दै आइरहेको भए पनि प्रशासनद्वारा अहिलेसम्म कुनै ठोस कदम उठाइएको छैन।
खियाघाटको वर्तमान स्थिति जीर्ण भएको भएपनि प्रतिदिन हजारौं मानिसहरू यसै घाटको बाटो भएर नदी तर्ने गर्दछन्। यात्रीहरूलाई केही ईँटा अनि कमजोर खम्बाको सहारामा नौकासम्म पुग्नुपर्छ जुन कुनै पनि समय ज्यानमारा साबित हुनसक्छ।
बाइक र साइकल लिएर यात्रा गर्नेहरूलाई अझ बढ़ी समस्या हुन्छ। घाटमा राति प्रकाशको कुनै व्यवस्था छैन जसबाट सूर्यास्तपछि यो घाट पूर्ण रूपले अनुपयोगी हुन्छ।
सन्देशखाली ब्लक-2 को एकमात्र ग्रामीण अस्पताल सन्देशखाली ग्रामीण अस्पताल खुलनामा अवस्थित छ। कुनै रोगीलाई आतापुरदेखि उक्त अस्पतालमा पुऱ्याउनु पऱ्यो भने खियाघाटको दयनीय अवस्थाको कारणले रोगीका परिवारलाई गम्भीर कठिनाईहरूको सामना गर्नुपर्छ।
यस घाटमा विगत लामो समयदेखिकै नाविक रहेका राधेश्याम दासले बताए, उनले कैयौं पटक प्रशासनसित नयाँ जेटी निर्माण गर्ने माग गरिसकेका छन्। उनको भनाइ छ, यस घाटमा कुनै पनि समय दुर्घटना हुनसक्छ। नित्य यात्रा गर्ने मानिसहरूले पनि आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै भनेका छन्, पूर्णिमामा नदीको जलस्तर घट्दा उनीहरूलाई लगभग जेटीको अन्तिम शिरामा पुगेर नौकामा चढ़्नुपर्छ जुन अत्यन्त खतरनाक हुन्छ।
स्थानीय निवासी स्वप्न दासले बताए, हरेक चुनाउको समयमा नेताहरू यहाँ आएर नयाँ जेटी बनाउने वाचा गर्छन्, तर चुनाउ सिद्धिएपछि उनीहरूले सबै कुरा भुल्छन्। प्रशासन घाटको दयनीय अवस्था देख्दा-देख्दै पनि मौन बसेको छ। उनले माग गरे, यथाशीघ्र एउटा नयाँ अनि सुरक्षित जेटी निर्माण गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा