खरसाङमा गोर्खा जनपुस्तकालयद्वारा भानु जयन्ती पालन गरिने
खरसाङमा गोर्खा जनपुस्तकालयद्वारा भानु जयन्ती पालन गरिने


खरसाङ, 10 जुलाई (हि.स.)। गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा यसपाली आदि कवि भानुभक्त आचार्यको जन्म जयन्तीमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने भएको छ।‌

गोर्खा जनपुस्तकालय खरसाङका मूल सचिव विनोद रसाइलीले बिहिवार खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै यसपाली पुस्तकालयको आयोजनामा 211औं आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालनसितै खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुलाई लिएर अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने जानकारी गराए। उनले यसको लागि विभिन्न विद्यालयहरुबाट अनलाइन आएको अडियोको आधारमा सातवटा विद्यालयहरु छनौट गरिएको बताए।

उनले बिहान 10 बजी खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको‌ आदिकवि भानुभक्त आचार्यको सालिगमा श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरिने र 11 बजीदेखि खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने जानकारी गराए। यसका साथै आदि कवि भानुभक्त आचार्यको फुटकर कविताहरु पनि वाचन गरिने उनले बताए। उनले कार्यक्रममा मुख्य अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्रध्यापक मेघनाथ छेत्री उपस्थित रहने बताए।

मूल सचिव विनोद रसाइलीले जानकारी गराए अनुसार, अन्तर विद्यालय रामायण पाठ प्रतियोगिताको लागि सातवटा विद्यालयहरु छनौट भएका छन्। ती सातवटा विद्यालयहरुमा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय, सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय, स्कट मिशन उच्चत्तर माध्यमिक विद्यालय, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय र पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालय आदि रहेका छन्। उनले प्रतियोगिताकमा प्रथम हुने विद्यालयलाई पीएल‌ धमला स्मृति पुरस्कार प्रदान गरिने जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande