खरसाङ, 11 जुलाई (हि.स.)। खरसाङमा यसपाली भव्य रुपमा भानु जयन्ती समारोह सम्पन्न हुने भएको छ। आदि कविको जन्म जयन्ती समारोह सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा गरिने भएको छ।
विशेष रूपमा भानु जयन्ती समारोह अन्तर्गत अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागका अधिकारी अनिर्बन दासले जानकारी गराएका छन्। उनले बताए अनुसार, कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालनसितै खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुलाई लिएर अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता पनि आयोजना गरिने छ।
उनले अझ बताए अनुसार, भानु जयन्ती अन्तर्गत बिहान 10 बजी खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरिने छ। बिहान 11 बजीदेखि खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता शुरू हुनेछ। यसका साथै, आदि कवि भानुभक्त आचार्यका फुटकर कविताहरु वाचन र विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि सम्पन्न गरिने छन्।
उनले यसपालीको भानु जयन्ती समारोहमा मुख्य अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्रध्यापक मेघनाथ छेत्री उपस्थित रहने जानकारी गराए। उनले भानु जयन्ती कार्यक्रममा खरसाङ क्षेत्रका कलेज, विभिन्न विद्यालयहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, गोर्खा जनपुस्तकालय खरसाङका सदस्य-सदस्याहरु सबैलाई उपस्थितिका लागि अनुरोध पनि गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक