पूर्व बर्दवान, 14 जुलाई (हि.स.)। उच्च मूल्य पाउने आशामा कतिपय किसानहरूले आलुलाई कोल्ड स्टोरेजमा राखेर मुनाफा कमाउने सपना देखिरहेका थिए। तर बजारको वर्तमान स्थितिले उनीहरूको आशालाई निराशामा परिमणत गरिदिएको छ। अहिलेको आलु बिक्री गरेर हात लागेको पैसाले किसानहरूले धानको खेती गर्दछन् जसको निम्ति खाद, श्रमिक एवं अन्य आवश्यक खर्च गर्नुपर्छ। तर कोल्ड स्टोरेजमा राखेको आलुलाई किसानहरूले अहिलेघरि 6-7 रुपियाँ प्रतिकिलो बेच्न परिरहेको छ। केही किसानरूको भनाइ छ, यदि उनीहरूले खेतबाटै आलु बेचेका भए धेरै फाइदा हुनेथ्यो। अहिले कोल्ड स्टोरेजमा राखिएको आलुबाट व्यापारीहरूले मुनाफा कमाउँछन्, तर किसानहरूलाई भने नोक्सान उठाउन परिरहेको छ।
बोहारका किसान शेख मोहम्मद यूसुफले बताए, बिचौलीहरूले आलु बेचेर धेरै मुनाफा कमाइरहेका छन्। खुल्ला बजारमा आलु 17-19 रुपियाँ प्रतिकिलोको दरमा बिक्री भइरहेको छ। कतिपय ठाउँमा त झन् यो भन्दा कम मूल्यमा आलु बिक्री भइरहेको छ। तथापि किसानहरूले 10 रुपियाँ प्रतिकिलोको दरले पनि पाइरहेका छैनन्। यदि आलुको मूल्य बढ़ेन भने किसानहरूलाई ठूलो झट्का लाग्नेछ। उनीहरूको भनाइ छ, यदि कोल्ड स्टोरेजमा राखेपछि पनि उचित मूल्य पाएन भने भविष्यमा आलु भण्डारणलाई लिएर किसानहरू निराश हुनेछन्।
मेमारी-2 ब्लकको कानपुर गाउँका किसान देबप्रसाद कर्मकारले भने, खुल्ला बजारमा आलुको मूल्य घटेको छैन, तर किसानहरूलाई भने उचित मूल्य दिइएको छैन। यदि यस्तै स्थिति कायम रहे उनीहरूले खेतीमा लागेको खर्च पनि पाउने छैनन्। यसको लाभ बिचौली अनि ठूल्ठूला व्यापारीहरूलाई मात्र भइरहेको छ। अहिले मूल्य घटेको छ, तर पूजापछि स्थिति फेरिनेछ। तर त्यसबेला किसानहरूसित स्टक रहनेछैन र ठूला व्यापारीहरूले फाइदा उठाउनेछन्।
कृषि विभागीय सूत्र अनुसार पछिल्लो सीजनमा पूर्व बर्दवानको हरेक ब्लकमा पर्याप्त मात्रामा आलु उत्पादन भएको थियो। तथापि केही पञ्चायतहरूमा वर्षाको कारणले नोक्सान भएको थियो। नोक्सान भएका किसानहरूले बीमाको पैसा पाएका छन्। केही साना किसानहरूले राम्रो दाम पाउने आशामा कोल्ड स्टोरेजमा आलु राखेका छन्। तर अब धानको मूल्य पनि घटेको छ र खाद्य विभागले सुदूरवर्ती क्षेत्रहरूमा क्याम्पहरूको आयोजना गरिरहेको छैन। परिणामस्वरूप किसानहरू कोल्ड स्टोरेजबाट आलु निकालेर बेच्न बाध्य भइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा