खरसाङ, 14 जुलाई (हि.स.)। खरसाङको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा समाजका सदस्यहरूलाई लिएर एकल अनि युगल क्यारम प्रतियोगिता सम्पन्न गरियो। समाजका वरिष्ठ सदस्य (प्रमुख सल्लाहकार) रामु राउतको अध्यक्षता र मूल सचिव बिरबल पाख्रीनको सञ्चालनमा सम्पन्न गरिएको यस प्रतियोगितामा एकल वर्गमा आठ खेलाडी र युग वर्गमा चार टीम थिए।
खेल शुरू हुनभन्दा अघि भर्खरै मात्र दिवंगत भएका स्वर्गीय रेणुका गुरुङको सम्झनामा छिमी बालेर समाजको गीतका साथ आत्माको चिर शान्तिको लागि मौन धारण गरियो। रामु राउत र नारायण राईले प्रतियोगिता आरम्भ भएको घोषणा गरेका थिए। खरसाङ महकुमा खेलकूद संघका आमन्त्रित निर्णायक विकास तामाङ र रमोद गुरुङ निणायक थिए।
एकल वर्गमा पवन रसाईली, बिरबल पाख्रीन, सुजय गुरुङ, अनुप प्रधान, जनबस्को राई, प्रभाकर लामा, बिरेन गिरी र अमिर भुषाल थिए। यसरी नै युगल वर्गमा बिरबल पाख्रीन र जनबस्को राई, लक्ष्मण छेत्री र सत्यम छेत्री, अमिर भुषाल र बिरेन गिरी अनि सुजय गुरुङ र अनुप प्रधान रहेका थिए।
एकल वर्गमा पहिलो विजेता बिरबल पाख्रीन र दोस्रो विजेता सुजय गुरुङ तथा युगल वर्गमा पहिलो विजेता अमिर भुषाल र बिरेन गिरी अनि दोस्रो विजेता सुजय गुरुङ र अनुप प्रधान भए। विजेता र उपविजेता खेलाडीहरूहरूलाई पुरस्कारहरू वितरण गरियो।
समाजका युवाहरूले क्यारम प्रतियोगिताको विषयमा समाज समक्ष प्रस्ताव राखेपछि उनीहरूको सकारात्मक सोच अनि पहलको कदर गर्दै सो प्रतियोगिता आयोजन गरिएको बताइएको छ। युवाहरूलाई कुलतबाट टाडा राख्न साथै विभिन्न सामाजिक क्रियाकलापमा संलग्न गराउने उद्देश्यका साथ उक्त कायक्रम आयोजना गरिएको समाजका मूल सचिव बिरबल पाख्रीनले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक