सीएपी सिक्किमका कार्यकर्ताहरूमाथि हमला, आरोप एसकेएममाथि
सीएपी सिक्किमका कार्यकर्ताहरूमाथि हमला, आरोप एसकेएममाथि


गान्तोक, 18 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका कार्यकर्ताहरूमाथि बिहिवार राति राजधानीमा हमला भएको छ। यस हमलामा सीएपीका कार्यकर्ताहरूलाई चोट लागेको छ भने एक जना गम्भीर रूपमा घाइते भएको बताइएको छ।

सीएपी महासचिव (संगठन) प्रकाश पराजुलीले बिहिवार राति लगभग 10 बजी सदर थानाभित्र सीएपी कार्यकर्ताहरूमाथि प्राणघातक हमला भएको आरोप लगाएका छन्। उनले यस हमलामा एसकेएम पार्टीको हात रहेको पनि आज जारी एक प्रेस विज्ञप्तिमा आरोप लगाएका छन्।

उनले हिजो सीएपी सिक्किमका नेताहरूले 'पद होइन पेन्शन' अभियानअन्तर्गत भिजिलेन्स कार्यालयमा शान्तिपूर्ण रूपमा आवाज उठाएको, तर साँझपख एसपी भिजिलेन्सको शिकायतमा 12 जना नेताहरूमाथि एफआईआर दर्ता गरिएको जानकारी गराएका छन्। यसपछि, युवा कल्याण परिषदका महासचिव दिवस गुरुङलाई पक्राउ गरेर थाना लगिएको उनले अवगत गराएका छन्।

महासचिव पराजुलीले रात लगभग 10 बजी सदर थानाभित्र खुकुरी, मार्तोल र लाठीले सीएपी नेताहरूमाथि हमला भएको दाबी गरेका छन्। उनले थानाभित्र भएको यो हमला केवल शारीरिक हिंसा मात्र नभई प्रजातन्त्र, कानून र मानव अधिकारमाथि पनि हमला रहेको ठहर गरेका छन्। उनले हमलामा प्रशान्त गुरुङ, धनबहादुर तामाङ, ललित गुरुङ र प्रशान्त बाबु छेत्रीलाई गम्भीर चोट लागेको जानकारी गराएका छन्।

उनले यस घटनालाई सत्ताको संरक्षणमा सञ्चालित योजनाबद्ध राजनीतिक हिंसा ठहर गर्दै कठोर शब्दमा घोर भत्सर्ना गरेका छन्। उनले भने, 'हाम्रा नेताहरूको रगतले पोषिएको हाम्रो आन्दोलन अझ तीव्र हुनेछ। यो आन्दोलन कुनै पार्टीको स्वार्थ होइन, न्याय र लोकतन्त्रको लागि लडाई हो। हामी न त डराउँछौं, न झुक्छौं। यो अन्यायविरुद्धको प्रतिकार अब शान्त नहुने लहर बनेर उठ्नेछ। हामी यहीँ रोकिने छैनौं।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande