तवाङ म्याराथनको लागि राजधानीमा प्रचार दौड सम्पन्न
तवाङ म्याराथनको लागि राजधानीमा प्रचार दौड सम्पन्न


गान्तोक, 18 जुलाई (हि.स.)। आगामी तवाङ म्याराथनको लागि आज राजधानीमा एक प्रचार दौड आयोजन गरियो। दौडको आयोजन सिक्किम ग्रीन हिल रनर्सले तवाङ म्याराथन टीमको सहयोगमा गरेको थियो।

यस 5 किलोमिटरको प्रचार दौडमा विभिन्न उमेरका एक सयभन्दा धेरै धावकहरू सहभागी बने। राजधानीको एमजी मार्गबाट शुरू भएको दौड पुन: एमजी मार्ग आइपुगेर समाप्त भएको थियो।

सिक्किम ग्रीन हिल रनर्सका अध्यक्ष दोर्जी डाडुल पल्जर र तवाङ म्याराथनका प्रतिनिधि गौरव शर्माले संयुक्त रूपमा झण्डा हल्लाएर दौड शुरू गरेका थिए।

अध्यक्ष पल्जरले स्थानीय धावकहरूको सहकार्य र सहभागिताप्रति उत्साह व्यक्त गरे। उनले सिक्किमका धावकहरूका लागि तवाङ म्याराथनको लागि तयारी गर्ने यो एउटा ठूलो अवसर रहेको बताए। उनले खेलकुद र फिटनेस पहलहरूप्रति निरन्तर समर्थन र प्रोत्साहनको लागि सिक्किम सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार प्रकट गरे।

तवाङ म्याराथनका प्रतिनिधि शर्माले यस प्रचार दौडको महत्वमाथि प्रकाश पारे। उनले तवाङ म्याराथनमा धेरैभन्दा धेरै धावकहरूको सहभागिता सुनिश्चित गर्न यो कार्यक्रम आयोजना गरिएको बताए। उनले म्याराथनको लागि पञ्जीकरण खुल्ला रहेको छ भन्दै यसपाली धेरै सहभागिताको अपेक्षा गरेको बताए। उनले पछिल्लो संस्करणमा सिक्किमका धावक फुर्बा तामाङ विजेता रहेको पनि जानकारी गराए। उनले यसपाली यस क्षेत्रबाट अझ धेरै सहभागिता रहने आशा व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande