खरसाङ, 02 जुलाई (हि.स.)। खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाउ गराउनु पर्ने मागमा भारतीय जनता पार्टीले खरसाङ बजारमा पोस्टरिङ गर्नुका साथै खरसाङ महकुमा शासकलाई ज्ञापन बुझाएको छ। 2017 मा चुनाउ भएपछि 2022 मा चुनाउ हुनुपर्ने, तर विगत तीन वर्षदेखि खरसाङ नगरपालिकामा चुनाउ नभएको भन्दै झट्टै चुनाउ गराउनु पर्ने मागमा भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोस्टरिङ गरेको छ।
यसका साथै भारतीय जनता पार्टीको तर्फबाट खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाउ गराउनु पर्ने मागमा खरसाङ महकुमा शासकमार्फत् दार्जिलिङ जिल्ला शासकलाई ज्ञापन पत्र बुझाएको छ।
यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामा र युवा मोर्चा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले भने, खरसाङ नगरपालिकाको चुनाउ 2022 मा हुनुपर्ने, तर अहिलेसम्म भएको छैन। यस कारण झट्टै चुनाउ गराउनु पर्नेछ। उनीहरूले उच्च न्यायालयले चुनाउ गराउन निर्देशन दिए पनि अहिलेसम्म चुनाउ नभएको बताएका छन् ।
---------------
हिन्दुस्थान समाचार / हनोक