सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको छ: सीएपी
अर्पण राई


गान्तोक, 24 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको महिला कल्याण परिषदले राज्यमा बढ्दो यौन दुर्व्यवहारका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। महिला कल्याण परिषदले छोरीहरूमाथि यदि यस्तै अन्याय जारी रह्यो भने यो मौन शासनले एक दिन जनताको आक्रोशको सामना गर्नु पर्नेछ भनी चेताउनी दिएको छ।

सीएपी महिला कल्याण परिषद महासचिव अर्पण राईले आरोप लगाउॅंदै आज जारी एक प्रेस विज्ञप्तिमा भनेकी छिन्, आजको सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको छ। सत्ताका सिङ्गो दरबारमा 'सुरक्षा' शब्दको अर्थ केवल नेता र तिनका घरपरिवारको संरक्षणमा सीमित देखिन्छ। हाम्रो समाज अब थाकेको छ। अपराधबाट होइन, शासनको संवेदनहीनता र महिलामाथि दोहोरो उत्पीडनबाट। बलात्कारी जेल जानु त परको कुरा, पीडितलाई नै चुप लगाउने परिपाटी शुरु भइसकेको छ।

उनले भनेकी छिन्, हिजो मात्र 11 वर्षीया बालिकालाई नाम्चीमा आफन्तद्वारा गरिएको यौन शोषणले थरथराएका आमाबुबाले सरकारलाई किन झस्क्याउँदैन? किन सत्तामा रहेका महिला नेतृहरू, जसले कुर्सी पाएको दिन 'नारीको आवाज' बनिने कसम खाएका थिए, आज मौन छन्? आज नारीको आँसुमा राजनीति गर्दै झण्डा बोकेर हिँड्नेहरू यौन शोषणका घटनामा चुपचाप बसेर कुन ‘शक्तिकेन्द्र’ को पर्खाइमा छन्?

महासचिव राईले भनेकी छिन्, आज जब सत्ताका महिला नेतृहरू चुप छन्, उनीहरूले बोल्ने अधिकार गुमाइसके। जब सुरक्षा परिषद्का नाममा कुर्सी ओगट्नेहरू मौन छन्, उनीहरूले सम्मान गुमाइसके। आज जब सरकारले आँखा चिम्म गर्छ, नागरिकले आँखा खोल्नुपर्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande