ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित
ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित


गान्तोक, 24 जुलाई (हि.स.)। कारफेक्टारस्थित एसआईआरडीमा सिक्किम सरकारी सेवा नियम र पञ्चायति राज संस्थानको कामकाजमाथि बुधवार एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजन गरियो। सहभागीहरूमा सुम्बुक र नन्दुगाउॅं बीएसी अन्तर्गत विभिन्न ग्राम पञ्चायत एकाईहरूमा कार्यरत सबै अस्थायी सरकारी कर्मीहरू जस्तै ओएफओजे कर्मचारी र एड्हक कर्मचारीहरू सामेल थिए।

प्रशिक्षण कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य पञ्चायतहरू र जन साधारणसॅंग समन्वय कायम राख्न उनीहरूलाई सेवा नियमहरू र पञ्चायति राज संस्थानको कामकाजको बारेमा जानकारी गराउनु थियो। कार्यक्रममा नाम्चीका डीपीओ सुरज राई र एसआईआरडीका संकाय सदस्य सीबी मंगर मुख्य स्रोतवक्ता रहेको जानकारी एसडीएम जोरथाङले प्रेस विज्ञप्तिमा बताएको छ।

एसआईआरडीका निर्देशकले प्रत्येक कर्मचारीले प्रभावकारी कार्यसम्पादनको लागि आवश्यक अनुशासित मानसिकता, चरित्र र सीपहरू अपनाउनुपर्ने कुरामा जोड दिए। प्रत्येक व्यक्तिले आफ्नो नोकरीसँगै आफूले दक्षता हासिल गर्ने सीपहरू विकास गर्नमा पनि ध्यान केन्द्रित गर्नुपर्छ भनी उनले सुझाउ राखे। यसैगरी, उनले सबैलाई आफ्नो सुविधा क्षेत्रभन्दा बाहिर आएर अन्वेषण गर्न तथा स्थानीय समुदायसॅंग स्थानीय समुदायहरूको विकासको लागि काम गर्न आह्वान गरे।

जोरथाङका एसडीएम योगेन स्याङ्गदेनले एसआईआरडीका निर्देशकलाई छोटो समयमा प्रशिक्षण आयोजन गर्नका लागि समर्थन प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे। उनले सिक्किम सेवा नियमको महत्त्व र कर्मचारीहरूलाई यसको आवश्यकतामाथि प्रकाश पार्दै प्रत्येक कर्मचारी यी नियमहरूद्वारा बांधिएका छन् भनी बताए।

उनले सबैलाई कुनै बाधा बिना जनतालाई सेवा प्रदान गर्ने भावना जगाउन पनि आग्रह गरे। एसडीएमले आफ्नो सम्बोधनमा वर्तमान समयसँग मेल खाने गरी आफ्ना जीपीयूहरूको विकास गर्न आ-आफ्ना पञ्चायत सदस्यहरूसँग सहकार्य र काम गर्ने आवश्यकतामाथि पनि प्रकाश पारे।

कार्यक्रमको आयोजना जोरथाङका एसडीएमद्वारा एसआईआरडी कारफेक्टारको सहयोगमा गरिएको थियो। प्रशिक्षणपछि सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। सहभागीहरूलाई लिएर अनलाइन परीक्षा पनि आयोजन गरिएको थियो भने सर्वोच्च अङ्क हासिल गर्ने कर्मचारीलाई एसडीएम जोरथाङको तर्फबाट 2500 रूपियॉं नगद पुरस्कार प्रदान गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande