खड़दह, 24 जुलाई (हि.स.)। करेन्ट लागेर एकजना साइकल सवारको मृत्यु भयो। घटना बिहिवार बिहान उत्तर 24 परगना जिल्ला अन्तर्गत खड़दह क्षेत्रमा भएको हो। पुलिसको सूत्रानुसार मृतकको पहिचान मोहम्मद अमिन (50)-को रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार मोहम्मद अमिन खड़दहको केरुलिया साइबन रोडमा साइकलमा सवार भएर गइरहेका थिए। यसै क्रममा सड़कमा चुँड़िएर झरेको एक हाई-टेन्शन बिजुलीको तारको सम्पर्कमा तिनी परे जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो। स्थानीय मानिसहरूले घटनाको सूचना बिजुली विभाग एवं राहड़ा थानाको पुलिसलाई दिए। सूचना पाएर बिजुली विभागका कर्मचारी एवं पुलिस घटनास्थसमा पुगे, तर उनीहरूलाई स्थानीय मानिसहरूको आक्रोशको सामना गर्नुपऱ्यो।
सूत्र अनुसार गए बुधवार अबेर रातीदेखि राज्यका विभिन्न भागहरूमा मेघ गर्जन सहित तूफान शुरू भएको छ। यस आपदाको कारणले बिजुलीको तारको एक भाग चुँड़िएर सड़कमा झरेको थियो। बिहीवार बिहान घरदेखि हिँड़ेका मोहम्मद अमिन उक्त तारको स्पर्शमा परे जसले गर्दा तिनको मृत्यु भयो।
स्थानीयहरूले बताए, यसप्रकारको घटना पहिला पनि भइसकेको छ। तथापि बिजुली विभागका कर्मचारीहरू उदासीन छन्। ठाउँ-ठाउँमा बिजुलीको तार खुल्लै छ। फलस्वरूप यस्ता दुर्घटनाहरू हिजोआज प्रायजसो नै भइरहेका छन्। यसबाट पैदल हिँड़्ने मानिसहरूलाई सदैव डर हुन्छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा