- समष्टिका सातजना शहीदहरुको एकै ठाउँमा शहीद वेदी निर्माण गरिने
खरसाङ, 29 जुलाई (हि.स.)। गोर्खाल्याण्ड आन्दोलनमा जाति र माटोको लागि शहीद बनेका शहीदहरूलाई अमरत्व प्रदान गर्न समष्टिका विभिन्न स्थानमा शहीदको नाम, परिचय, शहीद भएको मिति लेखेर बोर्ड लगाउने कार्य 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाको पहलमा गरिएको छ। उनले यस्ता बोर्डहरू खरसाङको भिक्टोरिया, नयाँ बस्ती, शेर्पा बस्ती, कटलेरीको फादरवेरी रोड अनि अन्य स्थानमा लगाएका छन्।
सभासद शेर्पाले यी बोर्डहरू गत 26 जुलाईको दिनै लगाएको पनि बताएका छन्। उनले बोर्ड लगाउने कार्यको बारेमा बताउँदै जनमानसले शहीदहरूलाई भुलिसकेका छन् र विशेष नव पीढीकाहरूलाई छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो प्राणको बलिदान दिने यी शहीदहरूको बारेमा कुनै जानकारी छैन, त्यसैले यो पहल गरिएको बताएका छन्।
सभासद् श्याम शेर्पाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो प्राणको बलिदान दिने शहीदहरूलाई जनमानसमा जिउँदो राख्न, नव पीड़ीलाई ती शहीदहरू चिनाउनको निम्ति शहीदको गाउँको बाटो, सार्वजनिक स्थलमा शहीदको नाम, परिचय र अन्य विवरण लेखेर टाँस्ने कार्य गरेको बताएका छन्। उनले यस्ता बोर्डहरू 28 नम्बर समष्टिको पाँच-छवटा स्थानमा लगाएको र यी बोर्डहरू हेरेर बोर्डमा लेखिएको शहीदको परिचय र विवरण हेरेर शहीदहरूको बारेमा जानुन्, प्रत्येकले स्मरण गरुन् भन्ने आफ्नो उद्देश्य रहेको पनि बताएका छन्।
सभासद् शेर्पाले यस समष्टिबाट गोर्खाल्याण्ड आन्दोलनमा सातजना जाति र माटोको लागि शहीद बनेको बताउँदै आगामी दिनमा 28 नम्बर समष्टिमा समष्टिका सबै शहीदहरूलाई समेटेर एउटा शहीद वेदीको निर्माण गर्ने योजना रहेको पनि बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक