आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न


गान्तोक, 31 जुलाई (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीद्वारा बर्सेनी 10 अगस्तको दिन पालन गर्दै आएको जन उन्मुक्ति दिवस यसपल्ट राज्य सरकारको आयोजनमा आमा सम्मान दिवसको रूपमा पालन गरिने भएको छ। यस कार्यक्रमको तयारीलाई लिएर आज व्यापक रूपमा छलफल गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ।

विज्ञप्ति अनुसार, यो कार्यक्रम सरकारद्वारा पालन गरिने भए तापनि एसकेएम सरकारको प्रमुख अङ्ग भएको कारण पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको निर्देशनमा पार्टीले कार्यक्रमलाई सफल बनाउने दिशामा डटेर काम गर्ने निर्णय लिएको छ।

यस क्रममा पार्टीका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चाको अध्यक्षतामा आज पार्टीको साङ्गठनिक प्रकोष्ठले दोस्रो तयारी सभा आयोजना गऱ्यो। सभामा प्रमुख रूपमा हरेक सङ्गठनका प्रतिनिधिहरूले हालसम्म सम्पन्न तयारी कार्यहरूको विस्तृत विवरण प्रस्तुत गरे। आगामी कार्यक्रमलाई भव्य र सफल बनाउन आवश्यक रणनीतिहरू तथा क्रियाकलापहरूबारे व्यापक छलफल गरियो।

उपस्थित शीर्ष व्यक्तित्वहरूले सबै सङ्गठन र सदस्यहरूलाई एकजुट भएर समारोहमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। यस वर्षको 'आमा सम्मान दिवस' कार्यक्रममार्फत आमाहरूको योगदान र सम्मानलाई विशेष स्थान दिने उद्देश्य राखिएको छ भने समारोहबाट आमाहरूको सम्मान तथा सामाजिक योगदानलाई मूल्याङ्कन गरिने कार्यक्रम रहेको बताइएको छ।

सिक्किमको सबै समष्टिका जनतालाई उक्त दिन कार्यक्रममा सहभागी भइदिन पार्टीले सविनय अनुरोध गरेको छ। सभाको अवसरमा एसकेएम नारी शक्तिले राज्य सरकारले आमा सम्मान दिवस जस्तो महत्त्वपूर्ण समारोह आयोजन गर्नका लागि अधिसूचना जारी गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै सिक्किम सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गऱ्यो।

आजको सभामा पार्टीका सेक्रेटरी जेनरल तथा मन्त्री अरुण उप्रेती, विधायकगण, सल्लाहकार-अध्यक्षगण, पार्टीका युवा अध्यक्ष लाक्पा मोक्तान, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र विकास बस्नेत लगायत पार्टीका युवा अनि नारी प्रकोष्ठका सदस्यहरू अनि शीर्ष कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande