आईपीआर विभागका अध्यक्षले आईपीआर विभाग मङ्गनको भ्रमण गरे
आईपीआर विभागका अध्यक्षले आईपीआर विभाग मङ्गनको भ्रमण गरे


मङ्गन, 31 जुलाई (हि.स.)। सूचना एवम् जनसम्पर्क विभागका अध्यक्ष असित राईले आज जिल्ला सूचना केन्द्र, आईपीआर विभाग मङ्गनको भ्रमण गरे। सबै जिल्ला भ्रमणको अन्तिम चरणमा उनले मङ्गनको भ्रमण गरेको जानकारी आईपीआर मङ्गनले गराएको छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा अध्यक्षले आफ्नो कार्यभार ग्रहण गरेपछि कर्मचारीहरूसँग अन्तरक्रिया गर्न र गतिविधि, उपलब्धि अनि चुनौतीहरूको प्रत्यक्ष विवरण लिन आईपीआर विभाग जिल्ला कार्यालयहरूको भ्रमण गरेको बताइएको छ।

जिल्ला प्रशासनिक केन्द्र परिसरमा आइपुगेपछि अध्यक्षलाई जिल्ला सूचना अधिकारी र विभागका कर्मचारीहरूले स्वागत गरेका थिए। त्यसपछि, अध्यक्षले विभागका अधिकारीहरूसँग अन्तरक्रियात्मक बैठक गरे। यस अवधि उनलाई विभागमा चलिरहेका गतिविधि र उपलब्धिहरूको बारेमा विस्तृत रूपमा जानकारी गराइएको थियो। अध्यक्षले जिल्ला कार्यालयले सामना गरिरहेको कोठाको अभाव र अन्य चुनौतीहरूमाथि पनि ध्यान दिए।

अधिकारी साथै कर्मचारीहरूले राखेका निवेदनहरूलाई ध्यानपूर्वक सुनेपछि उनले आईपीआर विभागको महत्त्वपूर्ण भूमिका र प्रत्येक क्षेत्रमा अधिकारी र कर्मचारीहरूले गरिरहेका प्रयासहरूको प्रशंसा गरे। पत्रकारको रूपमा आफ्नो विगतको अनुभव साझा गर्दै जिल्ला कार्यालयहरूले सामना गर्ने चुनौतीहरूबारे आफूलाई केही ज्ञात भएको अवगत गराए। अध्यक्ष राईले आईपीआर विभागमा सेवा गर्ने जिम्मेवारी प्रदान गरेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे।

विभागका अधिकारीहरूले जिल्ला कार्यालयको भ्रमणको लागि अध्यक्षलाई कृतज्ञता व्यक्त गर्दै बैठकको समापन भएको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande