खरसाङमा ट्राफिक पुलिसद्वारा ड्रग्स सेवन र बिक्रीमाथि रोकथामका लागि सचेतना कार्यक्रम सम्पन्न
खरसाङमा ट्राफिक पुलिसद्वारा ड्रग्स सेवन र बिक्रीमाथि रोकथामका लागि सचेतना कार्यक्रम सम्पन्न


खरसाङ, 31 जुलाई (हि.स.)। खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङमा‌ ड्रग्स रोकथामको लागि आज एक सचेतना कार्यक्रम सम्पन्न भयो। खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रमलाई खरसाङ ट्राफिक पुलिसका प्रभारी बीरेन्द्र छेत्रीले सञ्चालन गरेका थिए।‌

कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न विद्यालयहरुका विद्यार्थीहरु, निर्वाचित जनप्रतिनिधिहरु साथै समाजसेवीहरु उपस्थित रहेका थिए। कार्यक्रममा खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाहले स्वागत सम्भाषण राख्दै ड्रग्स रोकथामबारे सचेत गराएकी थिइन्। उनले आफ्नो फोन नम्बर सार्वजनिक गर्दै फोन गरेर ड्रग्स तस्करी विषयमा सूचना दिन अपील गरिन् र सूचना दिनेको नाम गोप्य राखिने विश्वास दिलाइन्।

दार्जिलिङका ट्राफिक डीवाईएसपी शेरप शेर्पाले विद्यार्थीहरुलाई लाइसेन्सबिना गाडी, बाइक, स्कुटी नकुदाई दिन अनुरोध गर्दै हेल्मेट अनिवार्य रुपमा लगाउनु पर्ने बताए। शेर्पाले भने, पुलिस प्रशासनले जनतालाई दुःख दिन ट्राफिकमा काम गरेको होइन, जनताको सुरक्षाको लागि काम गर्छन्। ट्राफिक विषयमा कुनै समस्या भएमा ट्राफिक बुथमा आएर बुझ्दा हुन्छ।

खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले ड्रग्सले‌ हामीलाई हानि मात्र गर्छ भन्दै ड्रग्सबाट टाडा रहन नितान्त आवश्यक रहेको बताए। उनले ड्रग्स सेवन गर्नेलाई पुलिसले जेलमा हाल्छ र उसको जीवन बर्बाद हुन्छ, त्यसैले ड्रग्स सेवनबाट टाडा रहनुपर्छ भने।‌ महकुमा शासकले भने, ड्रग्स सेवन गर्ने युवाहरुले समाजमा सम्मान पाउँदैन। युवाहरु ड्रग्स सेवनबाट टाडा रहेर विभिन्न खेलकूदहरुमा ध्यान दिएको राम्रो हुन्छ, किनभने अहिले विभिन्न खेलकूद संघहरु छन् जसले विभिन्न समयहरुमा विभिन्न खेलहरु आयोजना गरिरहेका छन्‌।

यसैगरी, वरिष्ठ अधिवक्ता रमेश अग्रवालले ड्रग्स सेवन र बिक्रीमा के कस्तो कानुनी प्रावधान लाग्न सक्छ भन्ने विषयमा कानूनी जानकारी गराएका थिए।‌ उनले कार्यक्रमको‌ उद्देश्य ड्रग्समुक्त समाज निर्माण गर्नु रहेको बताए। उनले ड्रग्सले शारीरिक, सामाजिक र आर्थिक रुपमा हानि पुऱ्याउॅंछ भन्दै ड्रग्सले समाजमा पनि खतरा उत्पन्न गराउँछ भनी बताए।

कार्यक्रममा ड्रग्स सेवन र बिक्रीमाथि रोकथाम साथै यसका कानुनी प्रावधानहरुलाई लिएर अन्तरक्रिया पनि सम्पन्न गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande