मन्त्री लेप्चाले नवनिर्मित प्रतीक्षालयमा जैविक सब्जी हाटको गरे उद्घाटन
मन्त्री लेप्चाले नवनिर्मित प्रतीक्षालयमा जैविक सब्जी हाटको गरे उद्घाटन


मङ्गन, 31 जुलाई (हि.स.)। जिल्ला प्रशासनिक केन्द्र मङ्गन परिसरमा रहेको नवनिर्मित प्रतीक्षालयमा जैविक सब्जी हाटको आज उद्घाटन भएको छ। मन्त्री साम्डुप लेप्चाले विधिवत उद्घाटन गरेर स्वयम् सहायता समूह (एसएचजी)-का पक्षमा औपचारिक रूपमा समर्पित गरे। यस पहलले एसएचजी सदस्य र अतिथिहरूको पहुँचलाई बढावा दिने र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दै आरामदायी आश्रय प्रदान गर्ने लक्ष्य राखेको छ।

स्वयम् सहायता समूहद्वारा जैविक सागसब्जीको प्रदर्शनी र व्यापार गर्नका लागि निर्मित हाट घरमा उनीहरूले आफ्ना उत्पादनलाई प्रदर्शन गर्न र बेच्न सक्नेछन्। यो पहलले स्थानीय कृषक र उद्यमीहरूलाई सशक्त बनाउनका साथै जिल्लाभित्र दिगो कृषि र स्वस्थ खाद्य अभ्यासहरूलाई पनि प्रवर्द्धन गर्ने बताइएको छ।

आज उद्घाटित सब्जी हाटमा मङ्गन खण्ड विकास केन्द्रअन्तर्गतका पञ्जीकृत १३४ एसएचजीहरूले पालैसँग आफ्ना उत्पादनहरू बिक्री गर्न सक्नेछन्। यसले सबै एसएचजीहरूलाई आफ्ना उत्पादनहरू प्रदर्शन गर्न र उपभोक्ताहरूसँग जोडिन समान अवसर सुनिश्चित गरेको छ। मङ्गनका खण्ड विकास अधिकारी (बीडीओ)-लाई उक्त स्थान प्रयोगको व्यवस्थापन र अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।

मन्त्री साम्डुप लेप्चाले आफ्नो संक्षिप्त सम्बोधनमा यत्तिको सार्थक र नवीन परियोजना प्रारम्भ गरेकोमा जिल्ला प्रशासन र विशेष गरी जिल्लापालको प्रयासको प्रशंसा गरे। उनले जैविक सागसब्जीको प्रदर्शनी र व्यापारलाई सामुदायिक इच्छाको प्रतिबिम्बको रूपमा औँल्याए। यसले विक्रेताहरूलाई आयार्जन गर्ने अवसर प्रदान गर्ने र उपभोक्ताहरूले उचित मूल्यमा ताजा, जैविक उत्पादनहरू प्राप्त गर्न सक्ने कुरामा जोड दिए। उनले सबै एसएचजी सदस्यहरूलाई शुभकामना दिँदै आफ्नो उद्यम बढाउन र स्थानीय विकासमा योगदान पुर्‍याउनका लागि यस अवसरबाट पूर्ण लाभ प्राप्त गर्न प्रोत्साहित गरे।

मन्त्रीले सिक्किमभरि महिला सशक्तिकरणलाई प्रवर्द्धन गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वलाई प्रकाश पारे। विभिन्न कल्याणकारी योजनाहरूमार्फत आमा लगायत महिलाहरूलाई मान्यता दिएर समर्थन गर्ने पहलहरूबारे जानकारी गराउँदै विशेषगरी, 10 अगस्तमा वार्षिक रूपमा मनाइने नयाँ अधिसूचित आमा सम्मान दिवसको उल्लेख गरे। यस्ता पहलहरूलाई मन्त्रीले राज्यभरि महिलाहरूको लागि मर्यादा, स्वतन्त्रता र अवसरहरूको प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदम बताए।

जिल्लापाल अनन्त जैनले आफ्नो सम्बोधनमा स्थलको विवेकपूर्ण प्रयोग गर्दै बिक्रीमा राखिएका उत्पादनहरूको उचित दर सुनिश्चित गर्न आह्वान गरे। उनले यो सुविधायुक्त प्रतीक्षालयको उद्घाटन गर्न र स्वयम् सहायता समूहहरूलाई प्रेरणा प्रदान गर्न आफ्नो बहुमूल्य समय दिएकोमा मन्त्रीलाई धन्यवाद दिए। यो पहलका लागि मङ्गन खण्ड विकास अधिकारीको प्रयासको पनि प्रशंसा गरे।

उद्घाटित प्रतीक्षालय तथा हाट घरले दिगोपन, समावेशीता र सशक्तिकरणमा आधारित अग्रगामी पहललाई प्रतिनिधित्व गर्दै जमिनी तहमा सामुदायिक सहभागिताले ल्याउन सक्ने बलियो उदाहरण प्रस्तुत गरेको बताइएको छ।

कार्यक्रममा जिल्लापाल मङ्गन अनन्त जैन, एसपी सोनाम देछु भोटिया, एडीसी मङ्गन पेमा वाङछेन नामकर्पा, एडीसी विकास मङ्गन सोनाम आर लेप्चा, विभागीय प्रमुखगण, खण्ड विकास अधिकारी (बीडीओ) कैलाश थापा, एसएचजी सदस्यहरू लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

मङ्गन खण्ड विकास अधिकारी श्री कैलाश थापाद्वारा धन्यवाद ज्ञापन गरिएपछि कार्यक्रम समापन भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande