दक्षिण 24 परगना, 6 जुलाई (हि.स.)। चरम आर्थिक अभाव अनि भोकको मार झेलिरहेका एक वृद्ध दम्पतिले गए शनिवार राति बारूईपुर स्टेशनमा विष खाएर आत्महत्या गर्ने प्रयास गरे।
प्राप्त जानकारी अनुसार डायमण्ड हार्बर निवासी 70 वर्षीय सन्यासी कर्मकार र उनकी 65 वर्षीय पत्नी झरना कर्मकार विगत लामो समयदेखिकै आर्थिक संकटसित जुझिरहेका थिए। दम्पतिको कुनै सन्तान छैन र उनीहरू घरमा एक्लै बस्छन्। सन्यासी कर्मकार पहिला पंखा कारखानामा काम गर्थे, तर लकडाउनको कारणले तिनको नोकरी गयो। त्यसपछिदेखि नै उनीहरूको अवस्था दिन-प्रतिदिन झन बिग्रिँदै गयो। उनीहरूलाई दुई छाक जुटाउन पनि गाह्रो भयो।
आर्थिक संकटदेखि दिक्क भएर शनिवार बिहान डायमण्ड हार्बरदेखि ट्रेनमा सवार भई उनीहरू बारूईपुर स्टेशनमा पुगे अनि दिनभरि प्लेटफर्म नम्बर चारमा बसिरहे। साँझ हुनसाथ स्टेशनदेखि बाहिर निक्लेर रेलगेट नजिकै विष किनेर सेवन गरे। त्यसपछि उनीहरू स्टेशनमा फर्किए अनि प्लेटफर्ममै लड़े।
उनीहरूको अवस्था देखेर यात्रीहरूले तुरून्त जीआरपीलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर दुवैलाई अस्पतालमा भर्ती गरायो। अस्पताल सूत्र अनुसार सन्यासी कर्मकारको अवस्था स्थिर छ, तर झरना कर्माकरको स्थिति गम्भीर छ। उपचाराधिन सन्यासीले बताए, “काम गयो पैसा थिएन, खानासम्मको अभाव भइसकेको थियो। घरमा कोही छैन। त्यसैले यो कदम उठायौं।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा