पादरी गंगाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म-जयन्ती पालन
पादरी गंगाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म-जयन्ती पालन


खरसाङ, 06 जुलाई (हि.स.)। पादरी गंगाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म-जयन्ती एकसाथ पालन गरिएको छ। सालबारीमा पादरी गंगाप्रसाद प्रधानको 174 औँ र हरिभक्त कटुवालको 90 औँ जन्म-जयन्ती संयुक्त रूपमा आयोजन गरियो।

कार्यक्रमको शुभारम्भ मोनिका प्रधान र देविका मंग्रातीद्वारा दीप प्रज्वलन तथा डा. सञ्जय बान्तवा र मिलन रुचालद्वारा विभूतिद्वय पादरी र कटुवालका तस्विरमा खादार्पण गरेर गरियो। कार्यक्रममा पादरीमाथि डीएस बम्जन र डा. हेमन्त काफ्लेले सारगर्भित वक्तव्य राखेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन ठकुरीले कवि कटुवालद्वारा लिखित एउटा कविता पाठ गर्नका साथै कटुवालमाथि वक्तव्य पनि राखेका थिए।

डा. सञ्जय बान्तवाले पनि पादरी र कटुवालमाथि आफ्नो सारपूर्ण वक्तव्य राखे। कार्यक्रममा कविता पाठको क्रममा मिलन रुचाल, ज्ञानेन्द्र खतिवडा, मनोज बोगटी, देविका मंग्राती, मोनिका प्रधान, लीलबहादुर सुनार, शरण ‘शरद’, राजा पुनियानी, कृष्ण प्रधान ‘अर्पण’, नरबहादुर छेत्री, मणिकुमार प्रधानले कटुवालका एक-एकओटा चयनित कविता पाठ गरे भने नोर्जाङ स्याङदेनले कटुवालमाथि एउटा स्वरचित कविता पढेर सुनाएका थिए।

कार्यक्रमको दोस्रो चरणमा कवि नोर्जाङ स्याङदेनको कविता सङ्ग्रह ‘कविता जस्तै कविताहरू’-को दोस्रो संस्करण विधिवत् लोकार्पित भयो। यस कार्यक्रममा कवि पूर्ण मंगर र पत्रकार उमेश परियार पनि उपस्थित रहेका थिए। जीत सुनारले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रमको समापन गरिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande