सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम सम्पन्न
सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम सम्पन्न


- विद्यार्थीहरुको लागि ठूलो हतियार नै मेहनत र परिश्रम हो: डा. विवास सेवा

खरसाङ, 06 जुलाई (हि.स.)। तीनधारे महानदी समष्टि‌ अन्तर्गत महानदी ग्राम पञ्चायतको संसद तीन सिविटार चियाबारीमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025 सम्पन्न भएको छ। उक्त कार्यक्रमको‌ अध्यक्षता स्प्रिङ्डेल एकाडेमी सिविटारका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्री उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, प्राध्यापक डा विवास सेवा, वरिष्ठ नागरिक एंव महानदी ग्राम पञ्चायतको पूर्व प्रधान जुद्ध शमशेर छेत्री, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। पत्रकार एवं कवि हनोक थापा र शिक्षिका ईशा राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण शिक्षक हेमराज छेत्रीले राखेका थिए।‌

कार्यक्रमको उद्देश्य र औचित्य विषयमा पञ्चायत सदस्य राजीव तामाङले वक्तव्य राखे। उनले पहाडमा पञ्चायत चुनाउ भएपछि गाउँ गाउँमा विकास कार्यहरु भइरहेको छ भन्दै विकास भनेको बाटो र झोडा बनिनु मात्र होइन, तर शैक्षिक उन्नति हुनु पनि हो भनी बताए। उनले यस क्षेत्रका विद्यार्थीहरुको शिक्षा क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विद्यार्थीहरुको शिक्षा र करियर विषयमा तीनधारे निवासी एवं श्री अग्रसेन महाविद्यालय, दालखोला, उत्तर दिनाजपुरका प्राध्यापक डा विवास सेवाले वक्तव्य राखेका थिए। उनले आफ्नो सम्बोधनमा भने, 'सपना‌ देख्नुपर्छ अनि आफ्नो माता पिताको लागि सपना पूरा गर्नुपर्छ। मेहनत र परिश्रम गर्नुपर्छ। कलेजमा पढ्दा मेहनत दोब्बर गर्नुपर्छ। विद्यार्थीहरुमा लगनशीलता हुनुपर्छ अनि पढाईलाई सिरियस लिनुपर्छ। विद्यार्थीहरुको लागि ठूलो हतियार नै मेहनत र परिश्रम हो।'

प्राध्यापक डा विवास सेवाले अघि भने, 'विद्यार्थीहरुका लागि चाहिने हतियार नै अंग्रेजी भाषामा‌ निपुण हुनु हो। विद्यार्थीहरुले दैनिक 10 देखि 15 घण्टा जति अनिवार्य रुपमा पढ्ने बानी बसाल्नुपर्छ। विद्यार्थी र अभिभावक सबैले अनिवार्य रुपमा दैनिक समाचार पत्र पढ्ने बानी बसाल्नुपर्छ। विद्यार्थीहरुले एउटा मात्र भाषा होइन, तर अन्य धेरै भाषाहरु सिक्नुपर्छ। विद्यार्थीहरु पढाईमा लगातार रुपमा इमान्दार भएर मेहनत र परिश्रमको साथमा पढाईमा‌ ध्यान दिनुपर्छ तब सफलता हात लाग्नेछ।

कार्यक्रममा सिविटारको संसद तीन क्षेत्रबाट यसपाली 2025 सालमा दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्बर्द्धना जनाइयो। यस अवसरमा विशेष गरेर बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याएर प्रथम दर्जामा उत्तीर्ण विद्यार्थीहरु क्रमैले साइना छेत्री, प्रशान्त छेत्री र स्मिथ छेत्रीलाई खदार्पणसहित प्रशंसा पत्र प्रदान गरेर सम्मान जनाइयो। त्यसरी नै उच्च माध्यमिक र माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्रीले विद्यार्थीहरुको सफलतामा अभिभावकहरुको पनि ठूलो हात हुन्छ भन्दै विद्यार्थीहरुको सफलताको लागि अभिभावकहरुलाई पनि बधाई दिए। उनले विद्यार्थी शैक्षिक सम्मान कार्यक्रमको लागि आयोजक समितिप्रति आभार प्रकट गरे।

विशिष्ट अतिथि महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पाले आफ्नो सम्बोधनमा आगामी दिनहरूमा सम्पूर्ण महानदी ग्राम पञ्चायत क्षेत्रलाई नै समेटेर कार्य गर्ने बताए। उनले आगामी दिनमा शिक्षाबाहेक अन्य विभिन्न क्षेत्रका प्रतिभाहरुलाई लिएर पनि सम्मान कार्यक्रम आयोजना गर्न सुझाउ दिॅंदै आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिए।

कार्यक्रममा सभाध्यक्ष प्राचार्य शरणकुमार राईले आफ्नो वक्तव्यमा‌ सबैलाई धन्यवाद दिॅंदै यो कार्यक्रम विद्यार्थीहरुको शैक्षिक क्षेत्रलाई बढाउने र विद्यार्थीहरुको मनोबल बढाउने कार्य रहेको बताए। उनले वर्तमानमा सिविटार क्षेत्रको साक्षरता दर बढेर गएको पनि बताए।

कार्यक्रममा स्प्रिङ्डेल एकाडेमीका विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरे भने विद्यार्थीहरु पारुमा राई र रिदम राईले कविता वाचन गरेको पञ्चायत सदस्य राजीव तामाङले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande