सिक्किमकी चेलीमाथि दिल्लीमा भएको घटनाको एसडीएफ चेली मोर्चाद्वारा भत्सर्ना
komal chamling


गान्तोक, 12 अगस्त (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) चेली मोर्चाले सिक्किमकी चेलीमाथि हालै दिल्लीमा भएको कुटपिट र दुर्व्यवहारको घटनाको कडा शब्दमा भर्त्सना जनाएको छ। एसडीएफ चेली मोर्चाले सिक्किम सरकारसँग घटनालाई तत्काल संज्ञानमा लिएर दिल्लीमा रहेका सम्बन्धित निकायहरूसँग समन्वय गरी पीडितालाई सुरक्षित उद्दार गर्न माग पनि गरेको छ।

एसडीएफ चोली मोर्चा प्रभारी कोमल चामलिङले आज जारी एक प्रेस विज्ञप्तिमा भनेकी छन्, 'सिक्किमकी चेलीमाथि हालै दिल्लीमा भएको कुटपिट र दुर्व्यवहारको समाचारले हामी अति नै मर्माहत बनेका छौं। पीडित चेली पूर्व सिक्किम, रिनाक निवासी, अहिले सिक्किम सरकारसँग न्याय र तत्काल उद्दारको लागि गुहार गरिरहेकी छिन्। हाम्रा सिक्किमेली चेलीहरू आफ्नै देशमा राज्यबाट बहिर अन्य राज्यहरूमा रहेर पढाई, रोजगारी वा अन्य कारणले अन्य राज्यमा बसोबास गर्दा यस्ता अमानवीय र अपमानजनक घटनाको शिकार हुनु अत्यन्तै दु:खद, लज्जास्पद र गम्भीर चिन्ताको विषय हो।'

उनले अझ भनेकी छन्, 'यो घटना कुनै व्यक्तिगत मात्र नभई सम्पूर्ण सिक्किमे चेलीबेटीको अस्मिता र सम्मानसँग जोडिएको विषय भएका हुनाले पुनः एकचोटि पीडितालाई तत्काल उद्धार गरि सुरक्षा र न्याय प्रदान गरून् र त्यस अपराधमा संलग्न दोषीहरूलाई कडा भन्दा कडा सजाय दिलाएर सिक्किमे आमाचेलीहरूको सुरक्षा सुनिश्चित गरून् भनि वर्तमान सरकार अथवा सरकार प्रमुख मुख्यमन्त्री समक्ष आग्रह गर्दछौं।'

प्रभारी चामलिङ केन्द्र सरकारको पनि ध्यान आकर्षण गराउॅंदै उत्तरपूर्वीय छोरी-चेलीहरूसँग देशका अन्य राज्यहरूमा बारम्बार यस्तो अमानवीय तुच्छ व्यवहारप्रति केन्द्रको पनि नजर र हस्तक्षेप रहेको होस् भन्दै हामीलाई पनि समान भारतीय नारी/चेली व्यवहार प्राप्त होस भनी गुहार लगाएकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande