गान्तोक, 14 अगस्त (हि.स.)। गान्तोक जिल्ला अन्तर्गत सामदोङको सरकारी संस्कृत महाविद्यालयमा अध्ययनरत एक नाबालिग विद्यार्थीमाथि एक व्यक्तिले निर्मम व्यवहार गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस घटनालाई लिएर चौतर्फी निन्दा शुरू भएको छ। विभिन्न संघ-संस्थाहरूले यस घटनाको तीव्र भत्सर्ना जनाउॅंदै आरोपी विरुद्ध कड़ा कानुनी कारबाहीको माग गरिरहेका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा एक नाबालिगलाई आरोपी व्यक्ति कथित आदित्य खडकाले प्रताड़ित र कुटपिट गरिरहेको देखिन्छ। अनुसूचित जाति समुदायमा पर्ने पीडित नाबालिग विरुद्ध आरोपीले जातिवादी टिप्पणीहरू गरेको पनि आरोप छ। यस घटनाको सम्बन्धमा सिङताम पुलिस थानामा आरोपी विरुद्ध मामिला दर्ता गरिएको छ भने आरोपी खडका पक्रा परिसकेका छन्।
पुलिस सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, गत 12 अगस्तका दिन सामदोङ निवासी आरोपी आदित्य खडका छेत्री बियरको बोतल बोकेर 14 वर्षीय पीडितको कोठामा प्रवेश गरे। आरोपीले पीडितलाई कुटपिट गर्दै सिगरेटले उसको निधार, नाक र हात पोलिदिए। आरोपीले नाबालिग विद्यार्थी विरुद्ध जातिवादी टिप्पणीहरू पनि गरे। यस अतिरिक्त, आरोपीले गम्भीर परिणाम भोग्नु पर्ने धम्की दिॅंदै नाबालिगलाई गम्भीर शारीरिक पीडा दिएको बताइएको छ।
उक्त सम्पूर्ण घटनाको भिडियो गरिएको र यस घटनाको सम्बन्धमा एक प्रत्यक्षदर्शी पनि रहेको पुलिस सुत्रहरूले बताएको छ। 29 वर्षीय आरोपी विरुद्ध बीएनएस 2023 को धारा 118(1)/127(2)/351(3) लगायत बाल न्याय (बालबालिकाको हेरचाह एवं संरक्षण) ऐन, 2015 को धारा 75 र अनुसूचित जाति एवं अनुसूचित जनजाति (अत्याचार निवारण) ऐन, 1989 को धारा 3(1)(आर)/3(1)(एस) अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल