- वर्तमान समयमा राज्यको भविष्यलाई आकार दिन युवाहरूको भूमिका महत्त्वपूर्ण: मुख्यमन्त्री
गान्तोक, 14 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम त्यागेका बिजल राई, युवराज दाहाल र नरेन्द्र अधिकारी सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमा सामेल भएका छन्। मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष प्रेमसिंह तामाङले उनीहरूलाई पार्टीमा स्वागत जनाएका छन्। बिजल राई तादोङ, युवराज दाहाल मानेबुङ देन्ताम र नरेन्द्र अधिकारी तुमिन-लिङ्गी निर्वाचन क्षेत्र निवासी हुन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा सीएपी नेतृत्वहरू एसकेएम पार्टीमा सामेल भएको जानकारी गराएका छन्। उनले एसकेएममा सामेल हुने उनीहरूको निर्णय केवल राजनीतिक कदम मात्र नभइ यो प्रगतिशील, समावेशी र युवा-सञ्चालित सिक्किमको लागि हाम्रो सामूहिक दृष्टिकोणमा विश्वासको एक शक्तिशाली पुष्टिकरण रहेको बताएका छन्।
मुख्यमन्त्रीले वर्तमान समयमा राज्यको भविष्यलाई आकार दिन युवाहरूको भूमिका पहिलेभन्दा बढी महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। उनीहरूको साहस, स्पष्टता र जनता-केन्द्रित शासनप्रतिको प्रतिबद्धताले हाम्रो पार्टीको परिवर्तनकारी भावनालाई प्रतिबिम्बित गर्दछ भनी उनले बताएका छन्।
मुख्यमन्त्रीले उनीहरूको योगदानले हाम्रो संकल्पलाई सुदृढ़ बनाउनेछ तथा बलियो, अझ आत्मनिर्भर र सशक्त सिक्किम निर्माण गर्ने हाम्रो साझा यात्रालाई तीव्र बनाउनेछ भनी विश्वास व्यक्त गरेका छन्। उनले युवा शक्तिलाई अग्रपंक्तिमा राखेर हामी परिवर्तनलाई अगाडि बढाउन, तृणमूल स्तरमा लोकतन्त्रको मूल्यमान्यतालाई कायम राख्न र प्रत्येक सिक्किमे नागरिकको कल्याणको लागि अथक प्रयास गर्न जारी राख्नेछौं भनी प्रतिबद्धता व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल